कोशी प्रदेश सरकारविरुद्ध परेको रिटमा आज सुनुवाइ हुँदै


७ भाद्र २०८०, बिहीबार ११:१५ मा प्रकाशित

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले गैर संवैधानिक तरिकाले विश्वासको मत लिएको दाबीसहित नेकपा एमालेले सर्वोच्च अदालतमा दायर गरेको रिटमा बिहीबार सुनवाइ हुने भएको छ ।

सभाध्यक्षको मतसहित विश्वासको मत लिएपछि एमाले उक्त निर्णय खारेजीसहित एमाले नेतृत्वमा सरकार गठनका लागि परमादेश माग्दै सर्वोच्च गएको हो । उक्त रिटमा बिहीबारदेखि सुनुवाइ सुरु हुनेछ ।

मुख्यमन्त्री थापाले संविधान र प्रचलित कानून विपरीत सभाध्यक्ष रहेका इस्राइल मन्सुरीलाई मतदान गराएर विश्वासको मत प्राप्त गरेको एमालेको जिकिर छ । यसअघि पनि तत्कालीन सभामुख बाबुराम गौतमको मतसमेत जोडेर थापा मुख्यमन्त्री नियुक्त हुनुभएको थियो । सर्वोच्च अदालतले त्यसलाई उल्ट्याइदिएपछि सभामुखबाट गौतमलाई राजीनामा गराएर थापा पुनः मुख्यमन्त्री बन्नुभएको हो ।

यसैबीच, कोशी प्रदेशसभाको अधिवेशन बुधबार रातिदेखि अन्त्य गरिएको छ । एमाले नेतृत्वको सरकारले ल्याएको बजेट अलपत्र रहेको बेला अधिवेशन अन्त्य गरिएको हो । नियमित सदनबाट बजेट समेत पारित हुने अवस्था नभएपछि अध्यादेशबाट बजेट ल्याउन अधिवेशन अन्त्य गरिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here