‘चन्द्रयान-३’ लाई चन्द्रमाको सतहमा अवतरण गर्न सफल भएकोमा नेपाली नेताहरुले दिए भारतलाई बधाई


७ भाद्र २०८०, बिहीबार ०५:५० मा प्रकाशित

काठमाडौं । ‘चन्द्रयान-३’ लाई चन्द्रमाको सतहमा अवतरण गर्न सफल भएकोमा नेपाली नेताहरुले भारतलाई बधाई दिएका छन् ।

भारतले गत असार २९ गते प्रक्षेपण गरेको ‘चन्द्रयान-३’ बुधबार साँझ चन्द्रमाको दक्षिणी ध्रुव नजिकै अतवरण गरेको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा, विपक्षी दलका नेता केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईसहितका नेताहरुले भारत र भारतीय वैज्ञानिकहरुलाई बधाई दिएका छन् । 

‘मित्रराष्ट्र भारतले चन्द्रयान–३ नामक यान चन्द्रमाको दक्षिणी ध्रुवमा सफलतापूर्वक अवतरण गराएको खबरले प्रफुल्लित छु । मित्रराष्ट्र भारतको यस सफलताबाट अन्तरिक्षको खोज, अनुसन्धानका साथै नयाँ सम्भावनाको खोजीमा मानव जातिले अर्को महत्वपूर्ण उपलब्धि हासिल गरेको छ, संसारभरिका वैज्ञानिक एवं अनुसन्धानकर्तामा थप प्रेरणा प्रदान गरेको छ,’ प्रधानमन्त्री दाहालले फेसबुकमा लेख्नुभएको छ,’यस ऐतिहासिक कार्यका निम्ति समकक्षी महामहिम नरेन्द्र मोदी, भारत सरकार र भारतीय जनतामा नेपाल सरकार र नेपाली जनताको तर्फबाट हार्दिक बधाइ ज्ञापन गर्दछु ।’

चन्द्रमा अवतरण भएको केही समयपछि बंगलोरस्थित आफ्नो कमाण्ड सेन्टरलाई सन्देश पठाएको थियो । इसरोले अवतरण हुँदै गर्दा यानबाट खिचेको तस्बिरहरु पनि सार्वजनिक गरिसकेको छ ।

पूर्वप्रधानन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले चन्द्रयान-३ को सफलाताका लागि भारतीय प्रधानमन्त्री मोदी तथा भारतीय जनतालाई बधाई दिनुभएको छ । ‘चन्द्रयान-३ को चन्द्रमा सफलता अवतरणका लागि प्रधानमन्त्री नरेन्द्र मोदीलाई तथा जनतालाई हार्दिक बधाई । अन्तरिक्ष क्षेत्रमा यो महत्वपूर्ण प्रगति हो,’ उहाँले सामाजिक सञ्जालमा लेख्नुभएको छ, ‘हामी इसरोको वैज्ञानिकहरुको असाधारण कार्यका लागि सम्मान गर्दछौं ।’

चन्द्रयान-३ को सफलता अवतरणसँगै तत्कालीन सोभियत संघ, अमेरिका, चीनपछि चन्द्रमा सफलतापूर्वक अवतरण गराउने राष्ट्र बन्ने पुगेको छ । भारतको यो सफलता अन्तरिक्ष अध्ययन अनुसन्धान क्षेत्रमा महत्वपूर्ण उपलब्धिको रुपमा हेरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here