काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले संविधान मिचेर विश्वासको मत लिएको भन्दै नेकपा एमाले पुनः सर्वोच्च अदालत पुगेको छ ।
कोशी प्रदेशसभामा मुख्यमन्त्री थापाले विश्वासको मत लिने क्रममा प्रदेश सभाको अध्यक्षता गरिरहेका इस्राइल मन्सुरीले पनि थापाको पक्षमा मतदान गरेको र त्यसले संविधान र सर्वोच्च अदालतको आदेशको उल्लंघन गरेको भन्दै बाध्य भएर सर्वोच्च आउनुपरेको कोशी प्रदेश नेकपा एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीले बताउनुभयो ।
उहाँले मत बराबर पनि नभएको अवस्था र मत बिभाजनको समयपनि सकेर मत सच्चाउने क्रममा मतदान गरि पुनः सभाध्यक्षको कुर्सीमा फर्कनु संविधानको धारा १८६ र प्रदेशसभा नियमावली बिपरितको कार्य भएको जिकिर गर्नुभयो ।
कानून, संविधान र संसदीय मूल्यमान्यतालाई स्थापीत गर्नका लागि बाध्य भएर अदालतमा न्यायका लागि आउनुपरेको उहाँले बताउनुभयो ।
उहाँले गठबन्धन दलले संविधानबिपरितको काम नरोकेसम्म पटक पटक अदालत आउनुपर्ने परिस्थीति उत्पन्न हुने धारणा राख्नुभयो । मुख्यमन्त्री थापाले सोमबार विश्वासको मत लिने क्रममा सभाको अध्यक्षता गरिरहनुभएका मन्सुरीले मतदान गर्नुभएको थियो ।