झापा । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मत अवैधानिक मान्दै नेकपा एमाले सर्वोच्च अदालतमा मुद्दा दर्ता गराउँदैछ।
संविधान र कानुनविपरीत सभाध्यक्षको भोटले प्रदेशसभाबाट गत सोमबार मुख्यमन्त्री थापाले विश्वासको मत लिएको भन्दै एमालेले सर्वोच्च अदालतमा मुद्दा दर्ता गराउन लागेको हो।
एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारीले मुख्यमन्त्री थापाले असंवैधानिक रूपमा लिएको विश्वासको मतको विरोधमा मुद्दा आज दर्ता गराउने जानकारी यसअघि नै दिइसक्नुभएको छ।‘हाम्रो कानुनी लडाँइ र संसद्भित्रको प्रतिवाद जारी नै रहन्छ, हामी फेरी पनि अदालत जाँदैछौँ’ उहाँले भन्नुभयो ।
यसअघि पनि तत्कालिन सभामुख बाबुराम दाहालको मतसहित मुख्यमन्त्रीमा थापा नियुक्ती भएपछि एमाले अदालत पुगेको थियो। सभामुखको मतसहित पहिलो पटक मुख्यमन्त्री भएपछि सर्वोच्च अदालतले त्यसलाई मान्यतालाई खारेज गरेको थियो।
पछि पुनः सभामुखलाई राजिनामा दिलाएर दोस्रो पटक मुख्यमन्त्री भएका थापाले विश्वासको मत लिँदा सभाध्यक्षको मत समेत जोडेपछि एमाले फेरी पनि सर्वोच्च अदालतमा मुद्दा दर्ता गराउन लागेको हो।






