बिराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आफूले विश्वासको मत पाउने दाबी गर्नुभएको छ ।
विराटनगरस्थित प्रदेशसभाको बैठकपछि शुक्रबार संचारकर्मीसँग मुख्यमन्त्री थापाले विश्वासको मत पाउने दाबी गर्नुभएको हो ।
‘विश्वासको मत प्राप्त गर्न गठबन्धनसँग ४७ संख्या छ‚’ उहाँले भन्नुभयो‚ ‘बहुमत ४७ नै हो मैले विश्वासको मत पाउँछु, मैले मागेको समयमा एक दिनपछि सारिएको विषय सल्लाहमै भएको हो।’
प्रतिपक्षी दलहरुले सरकारले विश्वासको वातावरण बनाएन भनेर भनिरहेको विषयमा संचारकर्मीले सोधेको प्रश्नमा उहाँले विश्वासको मत लिने दिनसम्ममा आफूले छलफल गर्ने बताउनुभयो। ‘विश्वासको मत लिने वातावरण बनाउनकै लागि भदौ ४ गतेसम्मको समय लिएको हुँ,’ थापाले भन्नुभयो ।
उहाँले उपसभामुखले राजीनामा दिएर अप्ठ्यारो परिस्थिति सिर्जना हुने अवस्था भए त्यसबेला अर्को विकल्पमा जाने पनि बताउनुभयो। तर त्यस्तो अवस्था सिर्जना नहुने समेत उहाँको भनाइ थियो।