विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आउने आइतबार (भदौ ३) गते प्रदेश सभामा विश्वासको मत लिने भएका छन्।
विश्वासको मत लिने प्रस्ताव उनले शुक्रबार नै प्रदेश सभा सचिवालयमा दर्ता गरेको गठबन्धनका एक नेताले जानकारी दिए।
साउन १६ गते नियुक्त भएका मुख्यमन्त्री थापाले भदौ १३ गते भित्र विश्वासको मत लिनुपर्नेछ ।
९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत चाहिन्छ । मुख्यमन्त्री उद्धव थापाको नेतृत्वमा सरकारलाई कांग्रेसका २९, माओवादी केन्द्रका १३, नेकपा एकीकृत समाजवादी पार्र्टीका ४ र जसपाको एक गरी ४७ सांसदको समर्थन छ ।
उनको विपक्षमा एमालेका ३९ (उपसभामुख बाहेक) र राप्रपाका ६ जना सांसद छन् ।