झापा बिर्तामोडका सञ्जय न्यौपानेले ल्याए म्युजिक भिडियो ‘जोडी मिलाइदेउ’


१ भाद्र २०८०, शुक्रबार ०७:०९ मा प्रकाशित

झापा । सञ्जय न्यौपाने प्रोडक्सनको प्रस्तुति रहेको नेपाली म्युजिक भिडियो ‘जोडी मिलाइदेउ’ को प्रिमियर शो झापाको बिर्तामोडमा भएको छ । म्युजिक भिडियोमा नायक पुष्प खड्का र नायिका आइशा तामाङको अभिनय रहेको छ।

गायक प्रमोद खरेल र गायिका शान्ति श्री परियारले स्वर दिएको म्युजिक भिडियोको प्रिमियर शो बिर्तामोडस्थित पाथीभरा सिने प्लाजामा बिहीवार गरिएको हो । करणराज कार्कीको रचना तथा संगीत रहेको म्युजिक भिडियोको निर्देशन तथा निर्माण सञ्जय न्यौपानेले गर्नुभएको हो ।

फिल्म प्रोडक्शन प्रालिका सञ्चालक, निर्माता निर्देशक तथा कलाकार न्पौपाने २८ बर्षदेखि निरन्तर रुपमा नेपाली चलचित्र क्षेत्रमा काम गर्दै आउनुभएको छ । न्यौपानेले साथी, सुरक्षा, जीत, गाउँलेलगायतका दर्जनौ नेपाली चलचित्रमा अभिनय गर्नुभएको छ भने पछिल्लो समय चलचित्र राधा, प्रेम दिवस, नाइ नभन्नु ल ६ जस्ता चलचित्रको निर्माण तथा चलचित्रमा अभिनयसमेत गर्नुभएको छ ।

प्रिमियर कार्यक्रममा पत्रकार तथा मोडल रमेश तिवारी, २० बर्षदेखि निरन्तर रुपमा चलचित्र क्षेत्रका बिभिन्न जिम्मेवारी सम्हाल्दै आएका दिनेशराज शर्मा, रि–बर्थ फाउन्डेशनका अध्यक्ष राजु गिरी, न्यू भिजन फाउन्डेशनका अध्यक्ष बुद्धि सुब्बा, प्राचीन सोसियल हबका सञ्चालक पाल्देन वाङ्दी शेर्पा तथा नायिका आइशा तामाङलाई सम्मान गरिएको थियो ।

सुनचाँदी ब्यवसायी राजु धमलाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा गीतकार तथा प्राध्यापक डा. कुमार सुवेदी, एमीटी कलेजका को–अडिनेटर बिनोद साहलगायतको आतिथ्य रहेको थियो ।

सम्मानित ब्यक्तित्वहरुको सम्मानपत्र पत्रकार उमाकान्त खनालले वाचन गर्नुभएको कार्यक्रमको सञ्चालन पत्रकार तिलक योञ्जनले गर्नुभएको थियो ।

प्रिमियर शोमा उपस्थित दर्शकले ‘जोडी मिलाइदेउ’ म्युजिक भिडियो एकदमै राम्रो बनेको प्रतिक्रिया दिएका थिए। उक्त म्युजिक भिडियो आज शुक्रवार संगीत भकारी युट्युब च्यानलमार्फत सार्वजनिक हुने जनाइएको छ ।

म्युजिक भिडियो १५ लाख रुपैयाँको लगानीमा तयार गरिएको निर्देशक न्यौपाले जानकारी दिनुभयो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here