प्रहरी निरीक्षक घाइते: विप्लव समूहले बर्दियामा जलायो वडा कार्यालय


२४ असार २०७६, मंगलवार ११:२५ मा प्रकाशित

बर्दिया । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले बर्दियाको गेरुवा गाउँपालिका–६ को वडा कार्यालयमा आगो लगाएको छ ।

सोमबार राति विप्लव समूहका कार्यकर्ताले वडा कार्यालयमा आगजनी गरेका हुन् । आगोलागीबाट वडा कार्यालय पूर्ण रूपमा नष्ट भएको छ । लेखा फाँटमा रहेका काजगात पनि जलेपछि वडाका विवरणहरू नष्ट भएका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरूम्बाङ्गले घटनास्थलमा विप्लव समूहको भेरी कर्णाली ब्युरोको पर्चा भेटिएको बताए ।

वडा कार्यालयमा लागेको आगो निभाउन पुगेका इलाका प्रहरी कार्यालय पाताभारका प्रहरी निरीक्षक खेमबहादुर मल्ल घाइते भएको प्रजिअ करुम्बाङ्गले जानकारी दिए । ‘आगो निभाउने क्रममा छानो खसेर घाइते हुनुभएका मल्लको नेपालगञ्जमा उपचार भइराखेको छ,’ उनले भने ।

घटनामा संलग्नको खोजी भइराखेको उनले बताए । यता गुलरिया नगरपालिका वडा नम्बर ७ र १२ मा पनि विप्लव समूहले ताला लगाएको उनले जानकारी दिए । विप्लव समूहले पछिल्लो समय सूदुरपश्चिम र तत्कालीन भेरी कर्णालीका जिल्लाहरूका स्थानीय सरकारमा भ्रष्टाचार बढेको भन्दै तालाबन्दी र आगजनी गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here