सुन तस्करी प्रकरणमा हालको सरकारको उच्च नेतृत्व नै संलग्न छः एमाले


२८ श्रावण २०८०, आईतवार १४:२६ मा प्रकाशित

काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमालेले क्विन्टल सुन तस्करी प्रकरणमा हालको सरकारको उच्च नेतृत्व नै संलग्न रहेको आरोप लगाएको छ।

एमालेको केन्द्रीय कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले पार्टीको वक्तव्य वाचन गर्दै भ्रष्टाचार र तस्करीमा सरकारकै नेतृत्व मुछिएको आरोप लगाउनुभयो । 

पार्टी अध्यक्ष केपी शर्मा ओलीले पनि सरकारले स्वतन्त्र छानबिन गर्न नसक्नुको कारण के हो भनेर सबैलाई थाहा भएको बताउनुभयो । 

‘सरकारले गरिरहेको सुन प्रकरणको छानबिन बिरालोले माला जपेको जस्तो छ। एक हातले माला जप्यो, अर्कोले मुसा समात्यो,’ उनले भने, ‘सरकारले स्वतन्त्र छानबिन गर्न नसकेको वाध्यता के हो यसै बुझ्न सकिन्छ। छानबिन गर्यो भने सबै कुरा फुस्किन्छ।’

ओलीले सुन तस्करीको छानबिनका लागि बहालवाला वा पूर्व न्यायाधीशको नेतृत्वमा उच्चस्तरीय स्वतन्त्र छानबिन समिति बन्नुपर्ने र संसदीय समिति स्वीकार नगर्ने बताउनुभयो ।

उहाँले संसदीय समिति कस्तो हुन्छ भनेर पोहोर नै हेरिएको उल्लेख गर्दै भन्नुभयो, ‘यो पनि छानबिन गर्नुपर्दैन, त्यो पनि छानबिन गर्नुपर्दैन भन्छन्। अझ सुन तस्करीको कहानी नै गलत हो। प्रतिपक्षले बनाएको हो भन्ने पनि बेर छैन।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here