प्रतिबन्धित लागुऔषधसहित मोरङबाट एक युवक पक्राउ


२८ श्रावण २०८०, आईतवार ११:५३ मा प्रकाशित

मोरङ । मोरङमा प्रतिबन्धित लागुऔषधसहित एक जना पक्राउ परेका छन् ।

पथरीशनिश्चरेमा साइकल चोरीमा संलग्न रहेका युवालाई नियन्त्रणमा लिने क्रममा उनको साथबाट प्रतिबन्धित औषधि बरामद भएको हो ।

पथरीशनिश्चरे नगरपालिका–२ स्थित प्रदीप धिमालको घरबाट साइकल चोरी गर्दै गर्दा शनिबार राति उर्लाबारी नगरपालिका–१ का २५ वर्षीय रमेश बराइली पक्राउ परेका थिए ।

धिमालको घरमा राखेको साइकल चोरी गर्दै गरेको थाहा पाएपछि स्थानीयले नियन्त्रणमा लिएर बराइलीलाई प्रहरीको जिम्मा लगाएका थिए ।

शरीर खानतलासी गर्दा उनको साथबाट स्पासपेन ४७, ट्रमाडोल ९६ र डिकोलिक ५० ट्याब्लेट बरामद भएको इलाका प्रहरी कार्यालय पथरीका डीएसपी लक्ष्मी भण्डारीले जानकारी दिए ।

उनका अनुसार बराइलीलाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि औषधि व्यवस्था विभागको जिम्मा लगाउने तयारी गरिएको छ ।

नेपालमा प्रयोगमा प्रतिबन्ध लगाइएको औषधि मिसाएर दुव्र्यसनीले लागूऔषधका रूपमा प्रयोग गर्ने गरेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here