काठमाडौं महानगरले राप्रपाको केन्द्रीय कार्यालय भत्काउँदै


१५ श्रावण २०८०, सोमबार ०६:५९ मा प्रकाशित

काठमाडौं । काठमाडौं महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को धुम्बाराहीस्थित केन्द्रीय कार्यालय भत्काउने भएको छ ।

महानगरले उक्त कार्यालय एक त नक्सा पास नगरिकनै बनाएको र अर्को विद्युत् प्राधिकरणको हाइटेन्सन लाइनमुनि रहेको भन्दै महानगरले शुक्रवार माइकिङ गरी कार्यालय खाली गर्न तीन दिनको समय दिएको थियो । उक्त समय आज पूरा हुँदैछ ।

यसअघि गत वर्ष असोज १३ गते पनि कामपाले कार्यालय हटाउनुपर्ने भन्दै सूचना टाँस गरेको थियो । त्यसबेला कार्यालय हटाउन सफल नभएपछि शुक्रवारबाट पुनः प्रक्रिया अघि बढाइएको जानकारी दिँदै कामपा प्रहरीबल प्रमुख राजुनाथ पाण्डेले भन्नुभयो– ‘आज सोमबारसम्म हेर्छौं, त्यसबेलासम्म पनि राप्रपाले कार्यालय हटाउने विषयमा चासो नदेखाए हामी आफैं हटाउने छौं ।’ 

कामपाले ‘राष्ट्रिय प्रजातन्त्र पार्टीमा रहनुभएका पदाधिकारीज्यूहरू, यो कार्यालयलाई आगामी सोमबारभित्र हटाई खाली गराइदिनुहुन काठमाडौं महानगरपालिका हार्दिक अनुरोध गर्दछ’ भन्दै माइकिङ जारी राखेको छ ।

कामपाका अनुसार धुम्बाराहीस्थित उक्त भवन स्थानीय सरकार सञ्चालन ऐन–२०७४ अनुसार नक्सा पास नगरी निर्माण गरेको देखिएको छ । साथै विद्युत् नियमावली २०५० को नियम ५० को अनुसूची १३ मा बिजुलीको तारदेखि घरसम्मको न्यूनतम दूरी कायम नगरी विद्युत् प्रशारण लाइनमुनि नै भवन निर्माण गरेकोले कामपाले उक्त भवन भत्काउन लागेको हो ।

कामपा शहरी व्यवस्थापन विभाग प्रमुख सुरज शाक्यले भन्नुभयो– ‘एक त नक्सा पास भएको देखिँदैन, अर्को धरापजस्तो हाइटेन्सन लाइनमुनि भवन रहेको छ । हाइटेन्सन लाइनमुनि भवन रहेको कारण महानगर आफैंले टेकुस्थित जग्गा एकीकरण आयोजनाहरू र मिसिल शाखा रहेको भवन भत्काउने तयारी गरेको अवस्थामा नियमविपरीत निर्माण भएको राप्रपाको भवन नभत्काउने भन्ने त हुँदैहुँदैन ।’

राप्रपाका मुख्य सचिव केदारबहादुर अधिकारीले भने लिखित पत्र उपलब्ध नगराइ कार्यालय भवन खाली गराउन नमिल्ने दाबी गर्नभयो । उहाँले भन्नुभयो – ‘हचुवाको भरमा मुलुकको ठुलो पार्टीको भवन भत्काउने विषय सामान्य मानिँदैन ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here