एक क्विन्टल सुन बरामद प्रकरणः पक्राउ पर्नेको संख्या १० पुग्यो


५ श्रावण २०८०, शुक्रबार ०७:२३ मा प्रकाशित

काठमाडौँ । राजस्व अनुसन्धान विभागले झण्डै एक सय किलो सुन तस्करीमा संलग्न रहेको भन्दै थप तीन जना कार्गो कम्पनी सञ्चालकलाई पक्राउ गरेको छ । 

जसको नाममा सुन आएको थियो त्यही कम्पनीको सामान यसअघि पनि ल्याउने र लैजाने कार्यमा सक्रिय रहेको देखिएपछि उनीहरूलाई पक्राउ गरिएको विभागका महानिर्देशक नवराज ढुङ्गानाले जानकारी दिनुभयो । 

साँझ पक्राउ गरिएका तीनै कार्गो तथा कुरियर सेवा दिने कम्पनीका सञ्चालकहरूको नाम भने विभागले सार्वजनिक गरेको छैन । उनका अनुसार बिहीबार साँझ पक्राउ परेका तीनसहित अहिलेसम्म उक्त सुन प्रकरणमा १० जना पक्राउ परेका छन् । 

त्यसमध्ये छ जनालाई बिहीबारै उच्च अदालत पाटनबाट १० दिनको म्याद लिएर अनुसन्धान थालिएको छ । बिहीबार दिउँसो पक्राउ परेका चिनियाँ नागरिकसहित चार जनालाई भने शुक्रबार म्याद थप गरिने जनाइएको छ । बिहीबार दिउँसो पक्राउ परेकामा चिनियाँ नागरिक जेयुङ लिन रहेका छन् । चीन जान लागेका बेला उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको थियो । 

बुधबारै पक्राउ परेकामा सुन ओसारपसारमा संलग्न गराइएको ट्याक्सीका चालक अशोक रानामगर, भन्सार एजेन्ट राजेन्द्रकुमार राई, रेडी ट्रेड प्रालिका सञ्चालक दिलीप भुजेल, सहयोगीहरू हर्कराज राई, थुक्पिन छिरिङ र रामकुमार भुजेल रहेका छन् ।

भन्सार पास भएर बाहिरिन लाग्दा विभागको टोलीले बुधबार राति हङ्कङबाट ल्याइएको झण्डै १०० किलो सुन बरामद गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here