काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सांसद र संसद्को भूमिकालाई जनतासमक्ष पुर्याउन संसदीय पत्रकारको भूमिका महत्वपूर्ण भएको बताउनुभएको छ ।
शनिबार काठमाडौंमा संसदीय मामिला पत्रकार समाजको आठौँ अधिवेशनको उद्घाटन गर्दै सभामुख घिमिरेले जनप्रतिनिधिका विषयजस्ताको तस्तै जनतामा पुर्याउने काम महत्वपूर्ण हुने बताउनुभयो ।
उहाँले सञ्चारमाध्यमसंग आगामी दिनमा पनि सहकार्य जारी रहने स्पष्ट पार्नुभयो । उहाँले संसदलाई गरिमामय बनाउनका लागि पनि सञ्चारमाध्यमले आवश्यक भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संसदीय मामिलाका समाचार सम्प्रेषण गर्ने समाजको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले मिडिया काउन्सिल विधेयक धेरै मेहनत गरेर तयार गर्दा राम्रो बनेको तर प्रतिनिधिसभामा गएर अघि बढन नसकेको बताउनुभयो ।
उपसभामुख इन्दिरा रानामगरले पत्रकार राज्यको ऐना भएको हुनाले संसद्का सही सूचना बाहिर ल्याउन संसदीय पत्रकारको भूमिका उल्लेखनीय रहेको बताउनुभयो ।






