काठमाडौं । जिल्ला निर्वाचन कार्यालय खारेज नगर्ने सरकारको प्रतिवद्धतालाई बजेटमा समेट्नुपर्ने भन्दै प्रतिपक्षी एमाले र रास्वपाले विरोध जनाएपछि संसद बैठक अवरुद्ध भएको छ ।
बुधबार प्रतिनिधिसभा बैठकमा बजेट पारित गर्ने प्रक्रियाका क्रममा दुई दलले जिल्ला निर्वाचन कार्यालय खारेज नगर्ने बिषयलाई बजेटमा नसमेटिसम्म सदन अघि बढ्न नसक्ने अडान राखेका थिए । रास्वपा प्रमुख सचेतक सन्तोष परियारले यस बिषयमा अर्थमन्त्रीबाट प्रतिवद्धता आए पनि निर्वाचन कार्यालय खारेज नगर्ने सुनिश्चित गर्ने आधार नदेखिएको बताउनुभयो । उहाँले यस बिषयको अन्यौल नहटेसम्म सदन चल्न सक्ने बताउनुभयो ।
त्यसपछि कांग्रेस मुख्य सचेतक रमेश लेखकले सवै दल र सरकारले समेत जिल्ला निर्वाचन कार्यालय खारेज भनेपछि प्रावधिक बिषयमा विरोध गर्नुको औचित्य नरहेको बताउनुभयो । उहाँले प्रतिपक्षी दल स्वतन्त्र निर्वाचनको पक्ष र सत्तापक्ष निर्वाचन कार्यालय खारेज गर्न लागेको जस्तो गरि राजनीतिकरण गर्न नहुने बताउनुभयो ।
बिपक्षीदलको विरोधपछि यस बिषयमा सहमति खोज्न सभामुख देवराज घिमिरेले १५ मिनटेका लागि बैठक स्थगित गर्नुभएको छ ।






