काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टी स्थापनाको पहिलो बर्षमा जनताको अभूतपूर्व साथ पाएको र सकारात्मक रहेको निष्कर्ष निकालेको छ ।
पहिलो पार्टी स्थापना दिवसका अवसरमा बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा रास्वपा सभापति रवि लामिछानेले समाजले परिवर्तन खोजेको भन्ने संकेत मतपत्रबाट नै जायर भएको भन्दै पहिलो बर्षमा जनताको अभूतपूर्व साथ पाएको र सकारात्मक रहेको बताउनुभएको हो ।
उहाँले संगठन विस्तारका धेरै काम बाँकी रहेकाले प्राथमिकताका आधारमा पार्टीलाई विधानसम्मत रुपमा अघि बढाउने प्रतिवद्धता जनाउनुभयो । उहाँले दलहरुका लागि मोर्चा नयाँ भए पनि आफूहरुका लागि दलहरुको मार्चा नयाँ नभएको भन्दै घोषित अघोषित मोर्चाहरुलाई तोड्दै उपनिर्वाचनमा नयाँ रेकर्ड नै कायम गरेको जिकिर गर्नुभयो ।
उहाँले नेपाली जनताको पक्षमा मोर्चा गरे आफूहरु पनि आउन तयार बताउनुभयो । उहाँले नेपालको राष्ट्रिय अखण्डताकाका बिषयमा सरकारले कुटनीतिक माध्यमबाटै छिमेकी राष्ट्रसंग वार्ता र संवाद गर्नुपर्ने बताउनुभयो ।
सो अवसरमा सभापति लामिछानेले बैंकर अनिल केशरी शाहलाई पार्टीमा स्वागत गर्दै प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी दिएको जानकारी दिनुभयो । रास्वपा प्रवेश गरेपछि शाहले नेतृत्व विकासका राजनीतिमा आएको जिकिर गर्नुभयो ।






