भ्रष्टाचार नियन्त्रणमा कुनै सम्झौता हुँदैनः प्रधानमन्त्री प्रचण्ड


३१ जेष्ठ २०८०, बुधबार १८:२६ मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचार नियन्त्रणमा कुनै सम्झौता नहुने स्पष्ट पार्नुभएको छ ।

नेकपा (माओवादी केन्द्र) का दिवङ्गत नेता डिआर पौडेलको चौथों स्मृति दिवसका सन्दर्भमा माओवादी पार्टी कार्यालय पेरिसडाँडामा बुधबार आयोजित स्मृति कार्यक्रममा प्रचण्डले भ्रष्टाचार विरुद्ध सरकार कठोर रुपमा प्रस्तुत भएको भन्दै कुनै पनि प्रकारको सम्झौता नगरिने स्पष्ट पार्नुभएको हो ।

उहाँले सरकार आफ्ना लागि ठूलो कुरा नभएको र ठूलो कुरा सुशासन भएको जिकिर गर्नुभयो । सुशासन कायम गर्ने आफ्नो लक्ष्यमा कुनै आशंका नगर्न उहाँले आग्रह गर्नुभयो । माओवादी अध्यक्ष समेत रहनुभएका प्रचण्डले नयाँ परिस्थितिमा कम्युनिस्ट आन्दोलन अगाडि बढाउन माजवादी मोर्चा बनाउन लागिएको जानकारी दिनुभयो ।

अहिले बिभिन्न आन्दोलनका उपलब्धिहरूमाथि प्रहार भइरहेको र लोकतान्त्रिक भनिएका शक्तिहरू अलोकतान्त्रिक र निकृष्ट व्यवहारमा उत्रिएको भन्दै प्रचण्डले यसका विरूद्ध संघर्ष गर्दै आन्दोलनका उपलब्धिहरूको रक्षा गर्ने जिम्मेवारी माओवादीको काँधमा रहेको जिकिर गर्नुभयो ।

उहाँले डिआर पौडेलको आकस्मिक निधनबाट पार्टीलाई अपुरणीय क्षति भएको बताउनुभयो । कार्यक्रममा प्रचण्ड लगाएत माओवादी नेताहरुले डिआर पौडेलप्रति श्रद्धाञ्जली व्यक्त गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here