काठमाडौं । काठमाडौं महानगरपालिकाले वडा नंवर २९ मा रहेको सरकारी जग्गा खाली गराएको छ ।
वडा नंवर २९ को वडा कार्यालय बनाउने भन्दै महानगरले डोजर लगाएर सरकारी जग्गा खाली गराएको हो । महानगरको उक्त कदमप्रति भने स्थानीयहरुले विरोध जनाएका छन् । सरकारी जग्गालाई अतिक्रमण हुनबाट रोकेर संरक्षण गर्दै स्थानीयले खेल्ने ठाँउ बनाएको स्थानमा महानगरले जवरजस्ती हस्तक्षेप गरेको उनीहरुको भनाइ छ ।
उनीहरुले सोही स्थान नजिकै रहेको अन्य दुईवटा सरकारी जग्गामा वडा कार्यालय बनाउन सुझाव दिएका छन् भने वडा नंवर २९ ले भने स्थानीयहरुले खेल्ने स्थानमा नै कार्यालय बनाउने तयारी गरेको छ । सोही अनुरुप वडा कार्यालय बनाउनका लागि सरकारी जग्गा खाली गराएको काठमाडौं महानगर प्रहरी प्रमुख राजु पाण्डेले बताउनुभयो ।
उहाँले सार्वजनिक जग्गा केही व्यक्तिहरुले अतिक्रमण गरेर बसेकाले नै अतिक्रमित भाग डोजर लगाएर हटाइएको बताउनुभयो । वडा कार्यालय निर्माण गर्ने बिषयमा यसअघि कांग्रेस क्षेत्र नंवर १ का सांसद प्रकाशमान सिंहसहित बसेको सर्वपक्षीय छलफल पनि निष्कर्षबिहीन भएको थियो ।






