झापा । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले राजनीतिक खेलका कारण साँच्चै खेलहरू ओझेलमा परेको बताउनुभएको छ ।
मदन भण्डारी स्पोर्ट्स एकेडेमी झापाद्वारा बिर्तामोडमा आयोजित प्रथम मदन भण्डारी राष्ट्रिय कराते प्रतियोगिता २०८० उद्घाटन गर्दै सभामुख घिमिरेले विगतमा प्रतिकूल परिस्थितिमा पनि खेल क्षेत्रलाई उचाइमा पुर्याउने खेलाडीहरूको उच्च सम्मान हुन नसकेको बताउनुभयो ।
आफूहरू प्रतिवन्धित रहेको अवस्थादेखि अहिलेसम्म खेलाडीहरूले राजनीतिकर्मीहरूलाई ‘गाइड’ गरिरहेका सभामुख घिमिरेको भनाइ थियो । जननेता मदन भण्डारीको हत्या भएको पनि तीस बर्ष बितिसकेको अवस्थामा उहाँको हत्यापछि जन्मेका युवावर्गलाई मदन भण्डारीबारे चिनाउने अवस्था मदन भण्डारी स्पोर्ट्स एकेडेमीले गरेको उहाँले बताउनुभयो ।
विशेषगरि कराते खेलको उन्नतिका बारेमा प्रतिनिधि सभाबाट के-कस्ता कानुन वा नियम बनाउनुपर्छ भन्नेबारे कराते खेलका प्रशिक्षकसंग समन्वय गरेर कानुन वा नियम बनाउने काममा आफू लाग्ने उहाँले बताउनुभयो । खेलाडीहरूले उचित सम्मान नपाएको अवस्थामा मदन भण्डारी स्पोर्ट्स एकेडेमीले कराते प्रतियोगिता आयोजना गरेर सराहनीय काम गरेको उहाँले बताउनुभयो ।
झापाको बिर्तामोडमा आयोजना भइरहेको मदन भण्डारी प्रथम राष्ट्रिय कराते प्रतियोगिता २०८० आइतबार सम्पन्न हुनेछ । प्रतियोगिताका लागि सातवटै प्रदेशबाट खेलाडी सहभागी भएका छन् ।






