दोस्रो मिस्टर कञ्चनजंघा बडिबिल्डिङ च्याम्पियनसिपको उपाधि दिलिप कुमार चौधरीले जिते


२७ जेष्ठ २०८०, शनिबार ०७:५० मा प्रकाशित

झापा । दोस्रो मिस्टर कञ्चनजंघा बडिबिल्डिङ च्याम्पियनसिपको उपाधि दिलिप कुमार चौधरीले जितेका छन् ।

कोशी प्रदेश खेलकुद विकास बोर्डको मुख्य आयोजना तथा  बडी ग्यारेज बिर्तामोडको संयोजनमा शनिबार राति सम्पन्न  च्याम्पियनसिपको प्रतिस्पर्धामा ओभर-अलमा ६५ किलो तौल समूहका चौधरीले उपाधि हात पारेका हुन् । उनले नगद ३ लाख ११ हजार १ सय ११ रुपैयाँ हात पारे । उनी डिएनपी फिटनेस गाइघाटबाट सहभागी भएका हुन् ।

यस्तै प्रतियोगितामा ७० किलो तौल समूहबाट केज टोटल फिट्नेस इलामका सनम लिम्बु दोश्रो, ७० किलो तौल समूहबाटै धरान फिट्नेसका संदिप गिरी तेश्रो, ५५ किलो तौल समूहबाट उर्लाबारीका धर्मराज खापुङ चौँथो र ७० किलो तौल समूहबाट नेपाल पुलिस क्लब हेटौँडाका अजय मल्लिक पाँचौ भएका छन् । उनीहरुले क्रमश २ लाख ५० हजार, १ लाख ५० हजार, १ लाख र ७५ हजार रुपैयाँका साथै मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गरेका छन् ।

तौल समूह अन्तर्गत ५५ किलौ तौल समूहमा धर्मराज खापुङ पहिलो, प्रवित राजवंशी दोश्रो र दिवश श्रेष्ठ तेश्रो भए । यस्तै ६० किलो तौल समूहमा अजय मल्लिक पहिलो, विनोद कार्की दोश्रो र युवराज बस्नेत तेश्रो भएका छन् ।

यसै गरी ६५ किलो तौल समूहमा दिलिप कुमार चौधरी पहिलो, हर्कबहादुर राई दोश्रो र ओशन कार्की तेश्रो भए। यस्तै ७० किलो तौल समूहमा सनम लिम्बु पहिलो, मदन कुमार योङहाङ दोश्रो र सागर राई तेश्रो भएका छन् ।

७० किलो माथिको तौल समूहमा भने २ जना मात्रै सहभागी थिए । शुक्रवारर सम्पन्न प्रि जजिङमा ३ जना सहभागी भएपनि एक जना खेलाडी कोशी प्रदेश बाहिरको भएकोकारण आउट भएका थिए । बाँकी रहेका २ जना मध्ये संदिप गिरी पहिलो र प्रशिद्व भक्त राई तेश्रो भएका छन् ।

विजेताहरुलाई कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव हंसराज वाग्ले, सहारा नेपाल साकोसका कार्यकारी निर्देशक महेन्द्र गिरी, जिल्ला खेलकुद विकास समिति झापाका अध्यक्ष प्रशान्त भण्डारी,आयोजक समितिका अध्यक्ष अर्जुन मैनाली, कार्यक्रम संयोजक राम दाहाल लगायतले पुरस्कार प्रदान गरे । समूहगत रुपमा दोस्रो र तेस्रो हुने खेलाडीलाई पनि जनही १० हजार र ५ हजार रुपैंयाँ पुरस्कार प्रदान गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here