काठमाडौँ । एनआरएन अस्ट्रेलियाको अबेर राति सम्पन्न निर्वाचनमा मेलवर्नका केशव कँडेल अध्यक्षमा निर्वाचित भएका छन् भने महासचिवमा ज्ञानेन्द्र रेग्मी विजयी भएका छन् ।
कँडेलले प्रतिद्वन्द्वी अन्तर्राष्ट्रिय झापाली समाजका अध्यक्ष दिनेश पोखरेललाई पराजित गरेका थिए । कँडेलले कुल ४ हजार १ सय ४८ मत ल्याएका थिए भने दिनेश पोखरेलले ३ हजार ७ सय ५७ मत ल्याएका थिए। महासचिवमा भने रेग्मीले ४ हजार १ सय ५८, सन्तोष दाहालले २ हजार ५ सय २२, शंकर ढकाल ९ सय ५० मत ल्याएको निर्वाचन समितिका सदस्य डिल्ली ढकालले बताए।
यस्तै, सचिव पदमा उषा बारिया पोखरेल र कोषाध्यक्षमा अनिल कुमार पोखरेलले जित हात पारेका छन्। उषा बारियाले परेशराज घिमिरे र सरोज पाण्डेलाई हराएकी थिइन्। उषाले ३ हजार ४ सय १३ मत, परेशले ३ हजार २ सय १८ मत र सरोज पाण्डेले ९ सय ३१ मत ल्याएका थिए।
एनआरएन अस्ट्रेलियाको कोषाध्यक्ष पदमा भने अनिल पोखरेलले प्रतिद्वन्द्वी कुशल केसी र कपील पाण्डेलाई पराजित गरेका थिए। कोषाध्यक्षमा पोखरेलले ३ हजार ८ सय ४१, कपील पाण्डेले २ हजार ६ सय ५ र कुशल केसीले १ हजार ७० मत ल्याएका थिए। सह कोषाध्यक्षमा लक्ष्मण गोपाली विजयी भएको निर्वाचन समितिका सदस्य ढकालले जानकारी दिए।
यस्तै, युथ कोर्डिनेटर पदमा भने इरशाद अहमद ३ हजार ४ सय ५१ मतका साथ विजयी भएका छन्। उनका प्रतिद्वन्द्वी विनोद पौडेलले २ हजार ७ सय ८७ मत ल्याएका थिए भने विजय पलले १ हजार ३ सय २८ मत हात पारेका थिए। यस्तै, डेपुटी युथमा द्वारिका दवाडी र युथ सचिवमा सुमन बोहराले जित हात पारेका छन्।
यस्तै, एनआरएन अस्ट्रेलियाबाट आइसीसी सदस्यहरूमा राजु अधिकारी(३ हजार ४ सय ६८मत), छवि सापकोटा(३ हजार ३ सय ३६), नारायण प्रसाद काफ्ले(३ हजार ८२), अरुण ठाकुर(३ हजार १ सय ४२), दिपक शर्मा( ३ हजार १ सय ५४), सन्तोष कुँवर(३ हजार १) र अशोक केसी(३ हजार ३०)ले जित हासिल गरेका छन्।
अस्ट्रेलियाको नेपाली समाजमा कहलिएका केही अनुहारहरू राजु मानन्धर र सिके भुषालले भने आइसीसीमै हार बेहोरेका छन्। यस्तै, एनआरएनका राज्य संयोजकहरूमा नर्दन टरोटेरीबाट हेम पुन निर्विरोध निर्वाचित भएका छन् भने केन्द्रीय सदस्यहरूमा टेविस प्रधान र बासुदेव दुलाल निर्वाचित भएका छन्।
यस्तै, क्यापिटल टेरोटेरी क्यानबेराको संयोजकमा चुडामणि सापकोटा विजयी भएका छन् भने केन्द्रीय सदस्यहरूमा ललित मल्ल र महेश वशिष्ठ निर्वाचित भएका छन्। यस्तै, वेस्टर्न अस्ट्रेलिया(पर्थ)को संयोजकमा कृष्णमान श्रेष्ठ निर्वाचित भएका छन् भने केन्द्रीय सदस्यमा शरद पौडेल र आशिष अधिकारीले विजयी प्राप्त गरेका छन्। यस्तै साउथ अस्ट्रेलियाबाट संयोजक तथा उपाध्यक्षमा नविन पन्थ विजयी भएका छन् भने केन्द्रीय सदस्यमा सन्जय पुरी र बाल सापकोट निर्वाचित हुन पुगेका छन्।
यस्तै, क्वीन्सल्यान्ड(ब्रिसबेन) राज्यको संयोजकमा उमेश खड्काले धिरेन्द्रराज थापालाई झिनो मतले पराजित गर्दै विजय प्राप्त गरेका छन् भने केन्द्रीय सदस्यमा राजु नगरकोटी र अभिषेक सिंह तथा सुमन श्रेष्ठ विजयी भएका छन्। यस्तै, भिक्टोरिया राज्यको संयोजकमा प्रेम कँडेल विजयी भएका छन् भने केन्द्रीय सदस्यहरूमा हरि खड्का र शिशिर चन्द्र बास्ताकोटी र हेम दुलाल विजयी भएका छन्।
यस्तै, न्यु साउथवेल्स राज्यमा देव गुरुङले निकतटम प्रतिद्वन्द्वी डिला खरेललाई पराजित गर्दै संयोजक पद हात पारेका छन्। गुरुङले १ हजार ३ सय ९२ र खरेलले १ हजार १ सय ८० मत ल्याएका थिए। सोही पदका अर्का दाबेदार मोहनदेव भट्टले दुई सय ४१ मत ल्याएका थिए। सो पदमा दुई सय २८ व्यक्तिले खाली छाडेका थिए। एनएसडब्लुबाट एनआरएनको सदस्यमा बाबुराम गौतम,कृष्ण निरौला, सागर अधिकारी,कर्ण कुमार यादव,अर्जुन गौतम विकास सापकोटा विजयी भएका छन्।
यस्तै, एनएसडब्लुको उपसंयोजकमा चुन्ना क्षेत्री विजयी भएका छन् भने सचिवमा दिपक पहारी, कोषाध्यक्षमा संगीता बस्नेत, सहसचिवमा तीर्थराज कार्की, युथ कोर्डिनेटरमा अरुण गौतम र डेपुटी युथ कार्डिनेटरमा पारस थापा विजयी भएका छन्।
निर्वाचनमा डेमोक्रयाट पक्षका दुई समूह र प्रगतिशील पक्षको एक समूह मैदानी भिडन्तमा उत्रिएका थिए। जसमा बृहत डेमोक्रयाट एकताको समूहले सर्वाधिक सफल रूपमा नतिजा हात पारेको छ। यता, प्रगतिशील समूहले दुई राज्यको संयोजक र पदाधिकारीमा एकमात्र सचिव पद हात पारेको छ।
‘यो सफलता सबै डेमोक्रयाट साथीहरूको सामूहिक प्रयासको परिणाम हो, समाज सेवा गर्छु भन्ने साथीभाइहरूको चाहना अनुरूप हामीले सबैलाई एक बनाएर अगाडि बढेका थियौं, परिणाम पनि त्यस्तै आएको छ’, नेपाल अस्ट्रेलियन डमोक्रयाटिक फोरमका अध्यक्ष विवेक थापाले भने।





