काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले कोशी प्रदेशमा पहिचानवादी भन्नेहरुले आफ्ना नेताहरुको हत्या गर्ने योजना बनाएको आरोप लगाएको छ ।
शुक्रबार प्रतिनिधिसभा बैठकको सुरुमै एमाले नेता योगेश भट्टराईले पहिचानवादी भन्नेहरुले आफ्ना नेता चढेको गाडी तोडफोड गर्ने, मोविल छर्केर हत्या गर्ने योजना बनाएको आरोप लगाउनुभएको हो ।
उहाँले आफ्ना नेतालाई निशाना बनाउदै पटक पटक आक्रमण हुँदा पनि सरकारले सुरक्षा दिन नसकेको बताउनुभयो । राज्यले आफ्ना नेता कार्यकर्ताको सुरक्षा दिन नसके एमाले आफैं आफ्ना नेता तथा कार्यकताको सुरक्षा गर्न सक्षम रहेको उहाँले बताउनुभयो ।
भट्टराईले प्रदेशको नाममा कसैलाई चित्त नबुझे प्रदेशसभामा वैधानिकरूपमा दुईतिहाइ बहुमत ल्याएर नाम स्वीकार गरे एमालेलाई स्वीकार्य रहेको उल्लेख गर्नुभयो ।
उहाँले यस बिषयमा गृहमन्त्रीले स्पष्ट रुपमा जवाफ दिन माग गर्नुभएको थियो । सांसद भट्टराईले मधेशमा एमालेलाई लखेट्न खोज्दा पहिलो पार्टी बन्न सफल भएको भन्दै एमालेलाई लखेट्ने नाममा आफ्ना कार्यकर्तामाथि आक्रमण गर्ने कुरा कुनै हालतमा स्वीकार्य नहुने स्पष्ट पार्नुभयो ।
उहाँले कोशी प्रदेशको आन्दोलनमा एक जनाको कसरी ज्यान गयो भन्ने बारेमा पनि सरकारले स्पष्ट जवाफ दिनुपर्ने बताउनुभयो ।






