काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको संसदीय दलको बैठक सुरु भएको छ । यसअघी गत सोमबार बसेको संसदीय दलको बैठकमा सांसदहरुले धारणा राख्नेक्रम नसकिएकाले आज पुनः बैठक बसेको हो ।
आजको बैठकमा सांसदहरुले बोल्ने क्रम जारी रहने संसदीय दलका उपनेता सुबास नेम्वाङले जानकारी दिए । सांसदहरुले समसामयिक विषयमा नेतृत्वलाई आफ्ना कुरा सुनाउने अवसर प्रदान गर्न नेकपाले संसदीय दलको बैठक बोलाएको हो ।
आफ्नै पार्टीको नेतृत्वमा बनेको सरकारका विषयमा सांसदहरुले आफ्नो कुरा राख्न नपाएपछि विभिन्न मञ्चमा गुनासो गर्दै आएका थिए । यसअघि संसदका हरेक अधिवेशनको सुरु र अन्त्यमा संसदीय दलको बैठक बस्ने र नेतृत्वले सांसदहरुलाई निर्देशन दिने मात्र गरेकोमा यसपटक नेतृत्वले सांसदहरुको कुरा सुन्न बैठक बोलाएको हो ।
सोमबारको बैठकमा २९ जना सांसदले आफ्नो कुरा राखेका थिए । संसद भवन बानेश्वरमा जारी बैठकमा बोल्न बाँकी सदस्यहरुले क्रमिक रुपमा आफ्नो धारणा राख्ने संसदीय दलका उपनेता नेम्वाङले जानकारी दिए ।
बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलगायत शीर्ष नेताहरु सहभागी छन् ।





