नक्कली शरणार्थी प्रकरणः प्रतिवेदन बुझाइँदै


८ जेष्ठ २०८०, सोमबार ०६:४७ मा प्रकाशित

काठमाडौँ । नक्कली शरणार्थी प्रकरणमा १६ जना पक्राउ परिसकेका छन्। तर, अझै उजुरी आउने क्रम जारी छ। आइतबार मात्रै थप पाँचवटा उजुरी परेको छ। पक्राउ परेकामाथि अनुसन्धान सँगै प्रहरीले प्रतिवेदन बनाइरहँदा उजरी पनि आइरहेका छन्। 

पूर्वगृहमन्त्री बालकृष्ण खाँण र पूर्वऊर्जामन्त्री टोपबहादुर रायमाझीसहित १६ जनालाई थप अनुसनधान गर्नुपर्ने भएकाले आइतबार तीन दिन म्याद थपिएको थियो। उनीहरूविरुद्ध म्याद थप भइरहँदा आइतबार नै ५० लाख ठगी भएको विवरणसहित ५ जनाको उजुरी आएको प्रहरीले जनाएको छ।

यस प्रकरणमा अनुसन्धान गरी तयार गरेको प्रतिवेदन आइतबार जिल्ला सरकारी वकिल कार्यालयमा बुझाउने तयारी पनि थियो। तर, थप उजुरी परेपछि सोमबार मात्रै प्रतिवेदन बुझाउने तयारी भएको प्रहरी अधिकारी बताउँछन्। 

जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दानबहादुर कार्कीका अनुसार अहिलेसम्म १ सय ११ जनाको उजुरी परेको छ। अनुसन्धान पूर्णतया नसकिएकाले प्रतिवेदन बुझाउन नसकिएको कार्कीले बताए। उनी भन्छन्, ‘यसै प्रकरणमा संग्लन भएकाहरूपछि पनि पक्राउ पर्ने र नयाँ उजुरी आइरहेको भएर पनि अनुसन्धान सकिएको छैन। बयान लिने, प्रमाण जुटाउने लगायतका केही कामहरू बाँकी नै छ। सकेसम्म सोमबारसम्म प्रतिवेदन बुझाउने तयारी प्रहरीको छ।’ 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here