झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेकाे सरकारले देश र जनताका लागि केही गर्नै नसक्ने बताउनुभएकाे छ ।
झापाकाे कमल गाउँपालिकामा बिहीबार आयाेजित अखिल नेपाल किसान महासंघको साताैं राष्ट्रिय महासम्मेलनलाई उद्घाटन गर्दै अध्यक्ष ओलीले वर्तमान सरकारले किसानका कुनै पनि समस्या समाधान गर्न नसक्ने बताउनुभयाे ।
किसानका मुद्दालाई उठाउने पार्टी एमाले मात्रै रहेकाे बताउँदै उहाँले भन्नुभयाे – ‘याे म्यादी सरकार हाे, यसकाे आयु लामाे छैन, किसानले केही पाउँछाैं भन्ने आशै नगरे हुन्छ ।’
अध्यक्ष ओलीले किसानका समस्या समाधान गर्दै विकास र समृद्धिकाे अभियानलाई अगाडि बढाउन एमालेकै सरकार चाहिने बताउनुभयाे । एमालेले अघि बढाएका विकास निर्माणका कामलाई गठबन्धन सरकारले अवरुद्ध पारेकाे बताउँदै उहाँले भन्नुभयाे – ‘विकास निर्माण अवरुद्ध छ, बजेट कटाैती गरिएकाे छ, तर त्याे अस्थायी कुरा हाे, यी सबै काम एमालेले आगामी चुनावपछि पूरा गर्नेछ ।’
अध्यक्ष ओलीले भाेलि अपरान्ह ४ बजे शीर्ष नेताहरुबीच छलफल हुने जानकारी दिनुभयाे । आफू, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भाेलि छलफल हुने र त्यस छलफलमा प्रधानमन्त्री समक्ष जनसराेकारसहित किसानका समस्याबारे कुरा राख्ने उहाँले बताउनुभयाे ।






