काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्र–निर्माणको साझा संकल्पका लागि नयाँ वर्षभन्दा उपयुक्त समय अरु हुन नसक्ने बताउनु भएको छ। नयाँ वर्षमा प्रधानमन्त्रीका रुपमा आफ्ना हरेक दिन र हरेक क्षण संविधानको कार्यान्वय, गणतन्त्रको सुदृढीकरण, स्थिरता र समृद्धिका लागि समर्पित हुने प्रचण्डको दाबी छ।
नयाँ वर्ष २०८० सालको अवसरमा शुक्रबार शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्रीले नयाँ वर्ष हामी आफैंमाथि भरोषा र आशाको वर्ष हुनेछ विश्वास व्यक्त गर्नुभएको छ ।
‘हरेक नयाँ वर्ष एउटा सुरुवात हो। विगतको समीक्षासहित नयाँ संकल्प गर्ने दिन हो। हामीले आत्मसमीक्षा गर्नैपर्छ, तर हामीलाई निराश हुने छुट छैन। राष्ट्र–निर्माणको साझा संकल्पका लागि नयाँ वर्षभन्दा उपयुक्त समय अरु हुनै सक्दैन,’ प्रधानमन्त्रीले आफ्नो शुभकामना सन्देशमा भन्नुभएको छ ।
प्रधानमन्त्रीले आफ्ना केही ठोस संकल्प रहेको बताउँदै निर्देशनको तहलाई कार्यान्वयनमा लैजान परम्परागत अवरोधबीच पनि यो बीचमा सकारात्मक सुरुवात भएको दाबी गर्नुभएको छ ।
‘अर्थतन्त्रमा देखिएका संकट र चुनौती क्रमशः कम हुँदै गएका छन्। वैदेशिक रोजगार व्यवस्थित हुँदै गएको छ, श्रमिकको अधिकार सुरक्षित गर्न महत्वपूर्ण सामाजिक सुरक्षा अभियानमा उनीहरू जोडिएका छन्। नागरिकले प्राप्त गर्ने सेवाहरू झन्झटमुक्त बनाउने अभियान सुरु भएको छ,’ प्रधानमन्त्री प्रचण्डको भनाइ छ।






