काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नयाँ वर्ष २०८० आशा, अपेक्षा र उमंगको उत्सव बनोस् भनी शुभकामना दिनु भएको छ ।
नयाँ वर्ष २०८० को अवसरमा शुभकामना सन्देश जारी गर्दै अध्यक्ष नेपालले दीगो शान्ति, अग्रगमन, राष्ट्रिय एकता र सामाजिक सद्भाव सहितको रोजगारी र आर्थिक समृद्धिका लागि नयाँ वर्ष २०८० उपलब्धिमूलक हुने विश्वास व्यक्त गर्नुभयो ।
मुलुकको राष्ट्रियता र जनहितको विषयमा सबै दलको साझा दृष्टिकोण हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।
‘राष्ट्र निर्माण तथा राष्ट्रिय महत्त्वका विषयमा सबै दलका बीचमा समन्वय र एउटै दृष्टिकोण हुनुपर्छ,’ अध्यक्ष नेपालको शुभकामना सन्देशमा उल्लेख छ ।
सामाजिक न्याय, समानता, समावेशी र सहभागितामूलक प्रतिनिधित्वका लागि अद्यावधिक निर्वाचन सहितको लोकतन्त्रको महत्त्व उल्लेख गर्दै सन्देशमा उहाँले जनताको लामो संघर्षबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गरी सामाजिक तथा आर्थिक रूपान्तरणका माध्यमबाट जनताको हितमा काम गर्नुपर्ने बताउनुभयो ।






