काठमाडौं । गत चैत १९ र २० गते काठमाडौंमा सम्पन्न लोकतान्त्रिक आदिवासी जनजाति महासंघको दोस्रो महाधिवेशनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले व्यक्त गरेका धारणाप्रति पूर्वी नेपालका आदिवासी सन्थाल समुदायका संगठनहरूले आपत्ति जनाएका छन् ।
राष्ट्रिय मिडियामा प्रसारित ओलीका अभिव्यक्ति आपत्तिजनक रहेको ती संगठनहरूले ठहर गरेका छन् । झापा तथा मोरङबाट सन्थाल प्रतिनिधिहरुकोसमेत उपस्थिति रहेको कार्यक्रममा ओलीले व्यक्त गरेको अभिव्यक्तिप्रति सम्पूर्ण सन्याल समुदायको मानहानी भएको उनीहरूको ठहर छ । सन्थाल समुदायका ६ वटा संगठनले मंगलबार झापाको बिर्तामोडमा पत्रकार सम्मेलन गर्दै उनीहरूले आपत्ति जनाएका हुन् । सन्थाल समुदायका अगुवा बडाराम हेमरेमले ओलीका अभिव्यक्ति फिर्ता हुनुपर्ने र सार्वजनिक रुपमा माफी माग्नुपर्ने माग गर्नुभएको छ ।
ओलीले हाम्रो गाउँको सतार महिलाहरु जुन पहिरन लगाउनु हुन्छ त्यो टिभीमा ल्याएर देखाउने हो भने क्या बोल्ड सीन भनेर उधुमै मच्चिन्छ भन्ने अभिव्यक्ति दिनुभएको छ । त्यही अभिव्यक्तिलाई सन्थाल समुदायका मानिसहरूले अश्लिल भनेका छन् । सन्थाल समुदायबाट संविधान सभा सदस्य बनेका मोहन टुडुले सार्वजनिक रुपमा ओलीले माफी नमागे कडा आन्दोलन गर्ने चेतावनी दिनुभयो ।
ओलीको अभिव्यक्तिले सन्थाल महिलालाई निकै ठूलो आघात पुर्याएको सन्थाल समुदायकी महिला सुभद्रा किस्कुले बताउनुभयो । ओलीलाई एक पटक सन्थाल महिलाले कस्तो पहिरन लगाउँछन् भनेर हेर्न आफ्नो गाउँ आउन आग्रह गर्नुभयो ।
नेपालका सन्थाल महिलाहरुलाई मात्र नभएर भारतको राष्ट्रपति द्रौपदी मुर्मुसमेतको अपमान भएको उनीहरूले ठहर गरेका छन् । अब उप्रान्त कुनै समुदायमाथि आँच आउने किसिमका अभिव्यक्ति नदिन उनीहरूले चेतावनी दिएका छन् ।






