काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनालले पार्टीको हैसियत अनुसार तीनवटा मन्त्रालयमा दावी गरेको बताउनुभएको छ ।
मंगलबार काठमाडौंको बानेश्वरमा मिटरब्याज पीडितहरुको आन्दोलनमा ऐक्यवद्धता जनाउन पुग्नुभएका खनालले सञ्चारकर्मीसंग कुरा गर्दै अहिले संघीय संसदमा नेकपा एकीकृत समाजवादीसंग १८ सिट रहेकाले पार्टीको हैसियत अनुसार नै मन्त्रालयको सीट माग गरिएको बताउनुभएको हो ।
उहाँले १० दल सरकारमा जाने र मन्त्रालयको सिट २५ रहेकाले दलहरुको भूमिकाका आधारमा मन्त्रीमण्डल बाँडफाँट गर्नुपर्ने धारणा राख्नुभयो ।
उहाँले सरकारको पाँच बर्षे नीति कार्यक्रमको योजना बनाएरमात्रै मन्त्रीमण्डल बाँडफाँट गर्न प्रधानमन्त्रीलाई सुझाव दिएको उल्लेख गर्नुभयो ।
त्यस्तै खनालले मिटरब्याज पीडितहरुको माग जायज रहेको भन्दै आन्दोलनमा समर्थन रहेको बताउनुभयो । उहाँले मिटरब्याज पीडितहरुको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराउने पनि बताउनुभएको हो ।