झापा । धानखेती गर्ने मध्य सिजनमा झापामा रासायनिक मलको अभाव भएको छ । किसानले धानखेती गर्ने बेला डीएपी मल अभाव भएको हो ।
जिल्लामा मल आपूर्तिको जिम्मा पाएको कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेनिङमा हाल एक बोरा समेत मल मौज्दात छैन । जिल्लामा धान रोपाईँका लागि पाँच हजार मेट्रिक टन डिएपी मल आवश्यक पर्छ । कृषि सामग्री कम्पनी लिमिटेड शाखा बिर्तामोड कार्यालयमा युरिया, पोटास मौज्दात रहेपनि डिएपी भने उपलब्ध छैन । कृषि सामग्रीको कार्यालयले यहीँ असार १५ सम्म १ सय २५ मेट्रिकटन मात्र डिएपी मल वितरण गरेको थियो ।
गोदाममा युरिया प्रशस्त भएपनि केन्द्रबाटै डीएपी मल आवश्यकता अनुसार उपलब्ध नगराउदा अभाव भएको कृषि सामग्री कम्पनी लिमिटेड बिर्तामोडका निमित्त शाखा प्रबन्धक कमल पोखरेलले बताए । ‘दैनिकजसो किसानहरु नै डिएपी मलका लागि आउनुहुन्छ’ पोखरेलले भने, ‘हामीसँग एक बोरा पनि छैन, अब डीएपी आउन समय लाग्छ भनिएको छ ।’
लिमिटेडले चालु आर्थिक वर्षमा २ हजार ६ सय ६० मेट्रिक टन डिएपी, ५ हजार ७ सय ७० मेट्रिक टन युरीया, र पोटास २ सय ९३ मेट्रिक टन बिक्री गरेको जनाएको छ । कृषि सामग्री केन्द्रले ७० प्रतिशत र टे«डिङले ३० प्रतिशत मल आपूर्ति गर्दै आएका छन् । केन्द्रले मात्र जिल्लाका १ सय १० सहकारी संस्थामार्फत किसानसम्म रासायनिक मल पठाउँदै आएको छ । स्थानीय निकायले अनुगमन नगर्दा रासायनिक मल बेच्ने सहकारी संस्थाले आफूखुशी मल बाँढ्ने गरेकाले लक्षित किसानसम्म मल पुग्न नसकेको किसानकै गुनासो छ ।
मध्यबर्खामा समेत अनुदानमा प्राप्त हुने रासायनिक मल नपाउँदा किसानले महँगोमा भारतीय व्यापारीबाट मल खरिद गर्नुपरेको बताएका छन् । ‘धान रोप्ने मल हाल्ने बेला भयो, डीएपी बजारमा पाइँदैन’ बुद्धशान्तीका किसान तेजकुमार फुयालले भने, ‘मल आवश्यक हुँदा पाइँदैन, धान पसाएपछि बल्ल मल आउँछ ।’ उनले गाउँमा सहकारीले मल वितरण गरे पनि मागअनुसार आपूर्ति गर्न नसकेको बताए ।
झापामा ९० हजार हेक्टर क्षेत्रफलमा धानखेती हुने गरेको छ । विगत वर्षभन्दा यसवर्ष रासायनिक मलको माग बढी भएपनि उपलब्ध गराउन नसकिएको कृषि ज्ञान केन्द्र झापाले जनाएको छ ।
सिचाईँ अभावमा खेतीयोग्य जमिन बाँझै
सिचाईँको अभावमा झापाका अधिकाशं खेतीयोग्य जमिनमा रोपाई हुन सकेको छैन । धान रोप्न आकाशे पानिको भर पर्नुपर्ने र खेतमा सिचाईँ सुविधा नहुँदा असारको अन्तिम हुँदा समेत रोपाई हुन नसकेको हो ।
असार पहिलो साताबाट साउनको पहिलो हप्तासम्ममा रोपाई सकिसक्ने झापा अधिकाशं खेतीयोग्य जमिन हालसम्म बाझैँ छन् । मनसुन सक्रिय नभएका कारण सिचाईँ अभावमा खेत बाझै राख्नु परेको किसानको गुनासो छ । ‘पानी नपरेर खेती सुरु नै गरेका छैनौँ’ हल्दिबारीका किसान लक्कीराम माडीले गुनासो गरे, ‘बेर्ना पनि ठुलो भइसक्यो, पानी पनि पर्दैन, साह्रै चिन्तामा छौँ ।’
झापाको लगभग ९० हजार हेक्टरमा धान खेती गरिदै आएपनि लगभग ४० प्रतिशत जमिनमा मात्रै सिचाई सुविधा उपलब्ध भएकाले बाँकी जमीनमा रोपाईका लागि आकाशे पानीकै भर पनुपर्ने बाध्यता रहेको छ । धान रोपिसक्नुपर्ने खेतमा अहिलेसम्म आलि काट्न नसकिएको र पानि अभावमा धाजा परेको कृषकको अर्का कृषक दिलकुमार मिश्रले बताए ।
कृषि ज्ञान केन्द्र झापाका अनुसार हालसम्म २२ प्रतिशत रोपाईँ मात्र सकिएको छ । गत बर्ष असारको तेस्रो सातसम्ममा ३५ प्रतिशत रोपाईँ सकिएको भएपनि यसपटक पर्याप्त वर्षा नहुदा गतवर्षको तुलनामा रोपाईँ कम भएको कृषि ज्ञान केन्द्र झापाका कृषि अर्थ विज्ञ शालिकराम भट्टराईले बताए । झापामा गत वर्र्ष ८७ हजार ५ सय हेक्टर जमिनमा धान रोपाईँ भएको थियो ।





