मेची सहकारीले शेयर सदस्यका लागि बनाइदियो चिटिक्क परेका घर


१२ चैत्र २०७९, आईतवार १०:१५ मा प्रकाशित

झापा । झापाको मेची बहुद्देश्यीय सहकारी संस्था लिमिटेडले आफ्ना शेयरधनीका लागि बस्ती निर्माण गरेको छ ।

सहकारीहरु समस्यामा परेको खबर दैनिक आइरहेका बेला दमक नगरपालिका–४ मा संस्थाले ५७ वटा दुई तले घरको नमूना बस्ती निर्माण गरेको हो ।

सहकारीले चार वर्षअघि ‘मेची सहकारी आवास’ निर्माणको तयारी गरेको थियो । कोरोना महामारीका कारण दुई वर्ष ढिलो गरी २०७८ मा सुरु गरेको निर्माण हालै सम्पन्न भएपछि ५७ वटा घर शेयरधनी सदस्यहरुलाई हस्तान्तरण गरेको छ ।

जमिनको क्षेत्रफल अनुसार प्रति घर ४३ लाखदेखि ५१ लाख रुपैयाँमा घर उपलब्ध गराएको सहकारीले पहिले नाम लेखाएको आधारमा घर हस्तान्तरण गरेको जनाएको छ ।

प्रति कट्ठा १२ लाखका दरले एक विगाह १८ कट्ठा जग्गा खरिद गरेर घर निर्माण गर्दा प्रति घर ३३ लाख रुपैयाँ खर्च भएको जनाइएको छ ।

सदस्यहरुले १५ प्रतिशत रकम जम्मा गरेपछि बाँकी रकम सहकारीले ब्याजदर १२ प्रतिशत भन्दा नबढ्ने गरी २० वर्षे ऋण उपलब्ध गराएको छ ।

सदस्यहरुको माग अनुसार दोस्रो चरणको आवस निर्माण कार्यक्रम पनि सुरू गर्ने घोषणा मेची बहुउद्देश्यीय सहकारीले गरेको छ । सो सहकारीमा १५ हजार शेयर सदस्य रहेको जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here