झापा । आईसीसी विश्वकप लिग टू अन्तर्गतको अन्तिम त्रिकोणात्मक सिरिजको पहिलो खेलमा घरेलु टोली नेपालले जित निकालेको छ ।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा बिहीबार पपुवा न्यु गिनी (पीएनजी) लाई ५२ रनले हराउँदै नेपालले सुखद सुरुआत गरेको हो ।
नेपालले दिएको २ सय ९८ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको पीएनजी ४७ ओभर १ बलमा अलआउट हुँदै २ सय ४५ रन मात्र बनाउन सक्यो ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४९ ओभर १ बलमा अलआउट भएर २ सय ९७ रन बनाएको थियो ।
नेपालले एकदिवसीय अन्तराष्ट्रिय खेलमा बनाएको यो सर्वाधिक ठूलो योगफल हो । गत वर्ष नेपालले पीएनजीविरुद्ध नै २ सय ७८ रन बनाएको थियो । यो नै नेपालले पहिलो ईनिङमा बनाएको सर्वाधिक ठूलो योगफल थियो ।






