काठमाडौं । दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द भएको छ । विमानस्थल नजिकै सोमबार बिहान ड्रोन आक्रमण भएपछि सुरक्षाका लागि विमानस्थल बन्द गरिएको हो ।
ड्रोन आक्रमण भएपछि एक इन्धन ट्याङ्कीमा भीषण आगलागी भएको छ। ड्रोन प्रहार लगत्तै ठुलो आवाजसहित आगोको लप्का देखिएपछि यात्रु र कर्मचारीहरूमा त्रास फैलिएको थियो।
दुबई नागरिक उड्डयन प्राधिकरणले यात्रु र विमानस्थल कर्मचारीहरूको सुरक्षा सुनिश्चित गर्न सावधानीका रूपमा उडानहरू निलम्बन गरिएको स्पष्ट पारेको छ। उडान सेवा कहिलेदेखि पुनः सुरु हुन्छ भन्नेबारे निश्चित जानकारी नदिए पनि प्राविधिक र सुरक्षा जाँचपछि मात्र विमानस्थल सञ्चालनमा आउने बताइएको छ।
दुबई मिडिया अफिसका अनुसार ‘ड्रोन आक्रमणका कारण विमानस्थल नजिकैको इन्धन ट्याङ्कीमा क्षति पुगेको थियो, जसलाई अहिले पूर्ण रूपमा नियन्त्रणमा लिइसकिएको छ,।’
यो घटना कसले र किन गराएको हो भन्नेबारे अहिलेसम्म कुनै समूहले जिम्मेवारी लिएको छैन।






