विस्तृत शान्ति सम्झौता विपरीतका गतिविधिको प्रतिवाद गर्ने माओवादी धारका पार्टीको निर्णय


२३ फाल्गुन २०७९, मंगलवार १४:२२ मा प्रकाशित

झापा । माओवादी धारका विभिन्न पार्टी तथा समूहको बैठकले विस्तृत शान्ति सम्झौताको मर्म र भावना विपरीत हुने कुनै पनि गतिविधिको विरोध र प्रतिवाद गर्ने निर्णय गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको जनयुद्धकालीन माओवादीका शीर्ष नेताको बैठकले पछिल्ला दिनमा शान्ति सम्झौता विपरीतका गतिविधि सतहमा देखिन थालेको ठहर गर्दै जनयुद्धकालीन एकमतका साथ अगाडि बढ्ने निर्णय गरेका हुन् ।

बैठकले शान्ति प्रक्रियाका बाँकी काम शीघ्र रूपमा कार्यान्वयन गर्न ध्यानाकर्षण गराएको माओवादी केन्द्रका नेता देव गुरुङले जानकारी दिनुभयो । यस्तै बैठकले विभिन्न समयमा राज्यसँग भएका सम्झौता कार्यान्वयन गर्न प्रतिबद्ध रहेको उहाँले बताउनुभयो । शान्ति सम्झौता अनुसार गठन भएको सत्य निरुपण तथा बेपत्ता नागरिक छानबिन आयोगको कामलाई प्रभावकारी बनाएर लैजाने विषयमा समेत बैठकमा महत्वपूर्ण छलफल भएको गुरुङले जानकारी दिनुभयो ।

शान्ति प्रक्रियाका बाँकी काम टुङ्गो लगाउन आवश्यक कानुनी एवम् संस्थागत व्यवस्थाका लागि तत्काल पहल गर्न पनि निर्णय भएको उहाँले बताउनुभयो ।

बैठकमा प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाल समाजवादी पार्टीका डा बाबुराम भट्टराई, नेकपा(क्रान्तिकारी माओवादी)का स्थायी समिति सदस्य सिपी गजुरेल, नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा, नेकपा(बहुमत)का संयोजक धर्मेन्द्र बाँस्तोला लगाएत सहभागी थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here