पेट्रोलियम ढुवानी व्यवसायीले दिए १५ दिनको अल्टिमेटम


१६ असार २०७६, सोमबार १७:१२ मा प्रकाशित

काठमाडौं । पेट्रोलियम ढुवानी व्यवसायी महासंघको केन्द्रीय कार्यसमिति बैठकले सरकारलाई व्यवसायीका माग सम्बोधन नगरे साउन १ गतेदेखि पेट्रोलियम ढुवानी ठप्प बनाउने चेतावनी दिएको छ ।

सोमबार सम्पन्न महासंघको केन्द्रीय कार्यसमिति बैठकले पाँच बुँदे माग प्रस्तुत गर्दै अझै एक वर्ष ट्याङ्करहरु भ्याटमा दर्ता हुन नसक्ने पनि उल्लेख गरेको छ । महासंघले अधिकांस ट्याङ्करहरु बैंक ऋणमा रहेको भन्दै ऋण फुकुवामा पहल गरिदिन पनि सरकारलाई आग्रह गरेको छ । ट्याङ्करहरु चालकहरु आफैंले सञ्चालन गरेको र बैंक ऋण फुकुवा गरेर कम्पनी दर्ता गरी भ्याटमा जान समय लाग्ने उनीहरुले तर्क गरेका छन् ।

महासंघले ट्याङ्करहरु भ्याटमा जानका लागि हाल सञ्चालनमा रहेका ट्याङ्करहरुको ह्रास कट्टी मूल्य तय हुनु पर्ने तथा हाल भ्याटमा दर्ता नभएका त्यस्ता गाडीहरु दर्तापश्चात बिक्री गर्दा भ्याट नलाग्ने व्यवस्था गरिनु पर्ने पनि माग अघि सारेको छ । महासंघले भारतीय क्षेत्रमा सञ्चालन हुने ट्याङ्करहरुको सञ्चालन खर्च कर प्रयोजनका लागि मान्य हुनुपर्ने एवं दृश्य अदृश्य खर्चको व्यवस्थापनको विषयमा सरकारले निर्णय गरिदिनुपर्ने माग समेत राखेको छ ।

ट्याङ्कर चलाउँदा खर्च हुने डिजलको भ्याट फिर्ता पाउने व्यवस्था सरकारले गरिदिनु पर्ने माग पनि अगाडि सारेको महासंघका अध्यक्ष खगेश्वर भोरले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here