बिर्तामोड नगरपालिकाले जग्गा वर्गीकरण टुंगो लगायाे


१५ माघ २०७९, आईतवार १५:४९ मा प्रकाशित

बिर्तामोड । बिर्तामोड नगरपालिकाले वडा नम्बर १ देखि ५ सम्मको जग्गा वर्गीकरण टुंगो लगाएको छ ।

नगर प्रमुख तथा स्थानीय भू–उपयोग परिषद् अध्यक्ष पवित्रा महतारा प्रसाईको अध्यक्षतामा बसेको बैठकले ५ वटा वडाको जग्गा वर्गीकरणको टुंगो लगाएको हो ।

नगरपालिकाले भू–उपयोग ऐन २०७६ को दफा ४ तथा भू–उपयोग नियमावली २०७९ को नियम ५ बमोजिम भू–उपयोग क्षेत्र नक्सा तथा विवरण प्राप्त भएकाले उक्त क्षेत्रमा पर्ने जग्गाहरुको भू–बनौट, भूमिको क्षमता तथा उपयुक्तता, भूमिको मौजुदा उपयोग र आवश्यकताका आधारमा जग्गालाई भू–उपयोग ऐन २०७६ को दफा ४ को उपदफा १ बमोजिमका क्षेत्रमा वर्गीकरण गर्ने निर्णय गरेको हो ।

नगर प्रमुख पवित्रा महतारा प्रसाईले जग्गा वर्गीकरणका क्रममा आवासीय र व्यवसायिक क्षेत्रमा परेका जग्गालाई कृषिमा राख्न इच्छुक भए परिवर्तन गर्न सकिने बताउनु भयो ।

उहाँले यसका लागि नगरपालिकाले आइतबार देखि ७ दिनको समय दिएकोले लिखित निवेदन पेश गर्न आग्रह गर्नु भएको छ ।

नगर प्रमुख प्रसाईले बाँकी रहेका वडा नम्बर ६ देखि १० सम्मका वडाको पनि जिआइएस प्रणालीको माध्यमबाट धमाधम काम भइरहेकोले जतिसक्दो चाँडै टुंग्याइने जानकारी दिनुभयो।

नगरपालिकाले वर्गीकरणको प्रक्रिया टुंगिएका १ देखि ५ सम्मका वडाको कित्ताकाट माघ अन्तिमसम्ममा खुलाउने गरि तयारी गरिएको छ ।

सरकारले केहि महिनाअघि जग्गाको वर्गीकरणअनुसार त्यसको उपयोग गराउने नीतिलाई कार्यान्वयन गर्न आवश्यक पर्ने नियमावली जारी गरेको थियो ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले जारी गरेको भू–उपयोग नियमावलीमा जग्गालाई विभिन्न १० वटा समूहमा वर्गीकरण गरिएको छ ।

जसमा कृषि, आवासीय, व्यावसायिक, औद्योगिक, खानी तथा खनिज, वन, नदी, खोला, ताल, सिमसार, सार्वजनिक उपयोग, सांस्कृतिक तथा पुरातात्त्विक महत्व र आवश्यकता अनुसार तोकिएका अन्य क्षेत्र छन् ।

यसैका आधारमा रहेर नगरका ५ वटा वडामा जग्गा वर्गीकरण गरिएको नगरका प्रमुख प्रशासकीय अधिकृत विनोद कुमार न्यौपानेले जानकारी दिनुभयो ।

निर्णय गरिएका ५ वटा वडा बजारक्षेत्रमा रहेका कारण आवास, व्यावसायिक, औद्योगिक र केहिमात्रामा कृषि क्षेत्रमा पनि परेका छन् ।

यस सम्बन्धी सम्पुर्ण जानकारी नगरपालिकाले कार्यालयको वेबसाइटमा समेत राखेको छ । नगरपालिकाले कृषि क्षेत्रमा वर्गीकरण हुने जग्गामा मालपोतरभूमिकर लागु गर्नेछ भने अन्य व्यवसायिक,आवासीय र औद्योगिक क्षेत्रमा भएको जग्गामा सम्पति कर लागु गर्ने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here