काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको तर्फबाट आयोजना गरिएका कार्यक्रममा बोलाएर पनि कार्यक्रममा सहभागी नहुनेहरुलाई अर्को पटकदेखि नबोलाउन निर्देशन दिनुभएको छ ।
सोमवार सिंहदरबारमा बसेको गणतन्त्र दिवस मुल समारोह समितिको बैठकमा बोल्दै उहाँले यस्तो निर्देशन दिनुभएको हो । उहाँले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहप्रति लक्षित गर्दै सधैँ कार्यक्रममा बोलाइरहनुपर्ने तर कहिल्यै नआउने गरेको टिप्पणी गर्नुभयो ।
कुनैपनि सरकारले आयोजना गरेका कार्यक्रमहरुमा सधैँ नाम राखेर बोलाइरहने तर नआउने गरेको भन्दै उनीहरुको रेकर्ड हेरेर आगामी कार्यक्रमदेखि नाम नराख्न निर्देशन दिनुभयो । कुनै अर्थ र महत्व नै नबुझ्नेहरुको नाम सधैँ झुन्ड्याइरहने काम राम्रो नभएको बताउनु भयो ।
प्रधानमन्त्री ओलीले गणतन्त्र दिवस जनस्तरमा मनाउनुपर्ने र सरकारी कार्यक्रममा मात्रै भर पर्न नहुने बताउनु भयो ।