डेंगुको संक्रमणबाट झापामा एक बालकको मृत्यु, २७ जना संक्रमित


१५ असार २०७६, आईतवार २१:३७ मा प्रकाशित

झापा । लामखुट्टेको टोकाईबाट सर्ने डेंगुको संक्रमणबाट झापामा एक बालकको मृत्यु भएको छ ।

डेंगुको संक्रमणबाट मृत्यु हुनेमा मोरङ मंगलबारे स्थायी घर भएका वालक कमल गाउँपालिका–४ स्थित मामा घरमा बस्दै आएका १४ वर्षीया बालक रिजेन राई रहेको कमल गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामचन्द्र मिश्रले जानकारी दिए । उनका अनुसार मामा घरमै बसेर फोनिक्स अंग्रेजी विद्यालय कमलमा कक्षा ९ मा अध्ययनरत बालक राईको उपचारको क्रममा शुक्रबार मृत्यु भएको हो । बुधवारदेखि बिरामी परेका बालक राईलाई तत्काल उपचारका लागि दमक अस्पताल लगिएको थियो ।

त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि शुक्रबार धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको र वीपीमा उपचारका लागि सघन उपचार कक्ष खाली नभएपछि बिराट नर्सिङ अस्पताल विराटनगर लैजाँदै गरेको अवस्थामा उनको बाटैमा मृत्यु भएकोस्वास्थ्य शाखा प्रमुख मिश्रले बताए । ‘बालकको डेंगुको संक्रमणबाटै मृत्यु भएको हो । स्वास्थ्य शाखा प्रमुख मिश्रले भने, ‘विस्तृत रुपमा रिपोर्ट हेरेपछि यस विषयमा थप कुरा बोल्न मिल्छ ।’

प्रदेश एकको सुनसरीको धरानबाट फैलिएको डेंगुको संक्रमणबाट झापामा हालसम्म २७ जना विरामी फेला परिसकेको जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ । डेंगुको संक्रमण फैलिन नदिन झापाका १५ वटै स्थानीय तहमा औषधि छर्नेदेखि जनचेतनामुलक कार्यक्रम हुँदै आइरहेको छ । सन् २०१२ मा झापाको काँकरभिट्टामा देखापरेको डेंगु रोगको संक्रमणका कारण यस अघि झापामा तीन जनाको मृत्यु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here