काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले मुलुक संघीय संरचनामा गएसँगै अब कुनै पनि पुरानो संरचना कायम रहन नसक्ने बताएका छन् ।
उनले मुलुकले विगतको संरचना भोग्न नसक्ने बन्दै अब परिवर्तित संरचनाअनुसार नै चल्नुपर्ने धारणा राखेका हुन् । राज्य व्यवस्था तथा सुशासन समितिमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको दफावार छलफलको क्रममा मन्त्री पण्डितले प्रदेश लोकसेवाले सम्बन्धित प्रदेश र अन्तर्गतका स्थानीय तहका कर्मचारी भर्नाको सम्पूर्ण अधिकार रहने जानकारी दिए ।
छलफलमा सांसदहरु झपट रावल, राजकिशोर यादव र दिलेन्द्रप्रसाद बडुले निजामती कर्मचारीमा व्यवस्था रहेको असाधारण बिदाको चरम दुरुपयोग भइरहेको भन्दै असाधारण बिदाको व्यवस्था नै खारेज गर्नुपर्ने बताए । सांसदहरु रेखा शर्मा, महेश्वरजंग गहतराज र छक्कबहादुर लामाले निश्चित मापदण्ड तोकेर विशिष्ट क्षमता भएकालाई करारमा नियुक्ति गर्नुपर्ने धारणा राखे ।
आजको बैठकमा विधेयकको दफा १० देखि छलफल भएको हो । विधेयकमा हुलाक, सिडियो अन्तर्गतका कर्मचारी, हुलाक, मालपोत तथा नापी, न्याय सेवा र भन्सारका कर्मचारी संघले नै परिपूर्ति गर्ने व्यवस्था छ ।





