काठमाडौँ । समाजवादी पार्टी नेपालका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई किसान हुलियामा देखिएका छन् ।
असार १५ अर्थात् धान दिवसको दिन आइतबार भट्टराई आफ्नै गाउँ गोरखामा गोरुसँगै खेत हिल्याइरहेको अवस्थामा देखिएका हुन् । धान दिवसको अवसरमा भट्टराई पालुङटार नगरपालिका–१ खोप्लाङ गोरखा पुगेका थिए। उनको पुर्ख्यौली गाउँ त्यहीँ हो । त्यहाँ मल्टीपर्पोज कृषि फर्मले कार्यक्रम आयोजना गरेको थियो ।
पूर्वप्रधानमन्त्री भट्टराईले धान दिवसमा गोरुसँगै दाँदे लगाए । हातमा कोदाली लिएर उनी हिलो खेतमा देखिएका छन् । ट्वीटरमा उनले धान दिवसमा आफ्नो सहभागिताका केही तस्बिर सार्वजनिक गर्दै लेखेका छन्, ‘कृषिको आधुनिकीकरण र व्यवसायिकरणमा जोड दिऔं, स्वदेशमै रोजगार सिर्जना गरौं । कृषिमा आत्मनिर्भर बनौं ।’





