झापा । झापाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले महिलाको सहभागिता नबढाए समतामूलक समाजको परिकल्पना गर्न नसकिने बताउनु भएको छ ।
मंगलबार बीरता लेडी जेसीजको पद हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी रिजालले सार्वजनिक कार्यक्रमहरूमा महिला सहभागिता विगतको तुलनामा बढ्दै गएको बताउनुभयो ।
उहाँले बीरता लेडी जेसीजले विगतदेखिनै राम्रा काम गर्दै आएको र भविष्यमा पनि सहभागितामूलक कार्यक्रम गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै झापाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले बीरता लेडी जेसीजको नयाँ कार्यसमितिलाई बधाई तथा कार्य सफलताको शुभकामना दिनुभयो । बीरता लेडी जेसीजका लागि सन् २०२३ का अध्यक्ष संगीता गिरीले मंगलबारबाट कार्यभार सम्हाल्नुभएको छ ।
मंगलबार आयोजना गरिएको पद हस्तान्तरण कार्यक्रममा उहाँले कार्यभार सम्हाल्नु भएको हो । सन् २०२२ की अध्यक्ष संगीता चिमरियाले गिरीलाई चेन हस्तान्तरण गर्दै पदीय जिम्मेवारी सुम्पनु भएको हो ।
पद हस्तान्तरण कार्यक्रम बिर्तामोड नगरपालिकाका प्रमुख पवित्रा महतारा प्रसाईंको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।






