झापा । काठमाडौंमा जारी पहिलो संस्करणको नेपाल टी–ट्वान्टी लिगमा काठमाडौं नाइट्सले विराटनगर सुपर किंग्सलाई पराजित गरेको छ ।
टियु मैदानमा मंगलबार भएको खेलमा काठमाडौंले विराटनगरलाई ३४ रनले पराजित गरेको हो ।
खेलाडी र आयोजक बीचको विवादका कारण ढिला सुरु भएको खेल ९ ओभरमा झारिएको थियो । जसमा काठमाडौंले दिएको ९३ रनको लक्ष्य पछ्याएको विराटनगरले ८.५ ओभरमा अलआउट हुँदै ५८ रन मात्र बनाउन सक्यो । विराटनगरका लागि गौरान्शूं शर्मा २२ तथा विवेक यादव १२ रनमा आउट भए ।
काठमाडौंका लागि कमल सिंह ऐरीले ३ तथा सुनाम गौतम र अनिल खरेलले समान २÷२ विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौंले ९ ओभरमा ५ विकेट गुमाएर ९२ रन बनाएको थियो । काठमाडौंका लागि सन्दिप रजालीले अविजित ३२ रन बनाउँदा कमलसिंह ऐरी १४ रनमा अविजित रहे । कप्तान ज्ञानेन्द्र मल्ल १४ रनमा आउट हुँदा एलेक्स ब्लेकले १३ रन बनाए ।
विराटनगरका लागि नन्दन यादवले ३ तथा हुसेन तलत र कियोन जोसेफले समान १÷१ विकेट लिए । त्यसअघि पारिश्रमिक नपाएको भन्दै दुवै टोलीले टस गर्न मानेका थिएनन् । विवादपछि क्यानका पदाधिकारी, नेपाल टि२० गर्भनिङ काउन्सिलका पदाधिकारी लगाएतको छलफलपछि खेल सूचारु गर्ने सहमति भएको थियो ।
खेल सुरु हुनुअघि ४० प्रतिशत पाउनुपर्ने र प्रतियोगिता चलिरहँदा ६० प्रतिशत पाउने सहमति भएपनि हालसम्म खेलाडीले पैसा नपाएको बताएका थिए । क्यानको रोहवरमा खेलाडीहरुलाई पारिश्रमिक उपलव्ध गराउने सहमति भएको बताइएको छ ।






