काठमाडौं । गृह मन्त्रालयले राहदानी, नागरिकता र राष्ट्रिय परिचय पत्र वितरणमा देखिएको समस्या समाधानका लागि अध्ययन गर्न विज्ञको टोली गठन गरेको छ ।
मन्त्रालयले राहदानी, नागरिकता र राष्ट्रिय परिचयपत्र प्राप्त गर्न लामो र झन्झटिलो प्रक्रिया भएकोले त्यसलाई सहज बनाउन विज्ञको टोली गठन गरेको हो ।
सूचना प्रविधि विज्ञहरूको टोली गठन गरेर अध्ययन सुरु गरिएको मन्त्रालयका प्रवक्ता सहसचिव फणिन्द्रमणि पोखरेलले जानकारी दिनुभयो । प्रवक्ता पोखरेलका अनुसार विज्ञको टोलीले अध्ययन सुरू गरिसकेको छ । अध्ययन प्रतिवेदनका आधारमा समस्याको समाधानतर्फ लागिने उहाँको भनाई छ ।
मन्त्रालयको जिम्मेवारी सम्हालेपछि गृहमन्त्री रवि लामिछानेले राहदानीलगायत महत्वपूर्ण परिचय पत्र वितरणलाई सहज बनाउने र लाइन लाग्नु पर्ने बाध्यता हटाउने बताउनुभएको थियो । उहाँले राहदानी विभागमा अनुगमन समेत गर्नुभएको थियो ।
पुष्पकमल दाहाल नेतृत्वको सरकार गठन भएसँग सार्वजनिक सेवामा सर्वसाधारणको सहज पहुँचलाई प्राथमिकतामा राखेको छ ।