भावना लिङदेन
झापा । ९३ सदस्यीय प्रदेश १ सभामा झापाबाट सबैभन्दा बढी २० जना प्रदेश सांसद छानिनुभएको छ ।
यस्तै प्रदेशसभामा प्रतिनिधित्व गर्ने ६ वटा दलमध्ये झापाका तीन जना सांसद दलको नेतामा चयन हुनुभएको छ ।
झापाबाट निर्वाचित सबैभन्दा ठूलो दल एमालेका हिक्मत कार्की, प्रमुख प्रतिपक्षी बन्ने कांग्रेसका उद्धव थापा, राप्रपाका भक्तिप्रसाद सिटौला दलको नेतामा निर्वाचित हुनुभएको हो । समानुपातिकमा एक जना प्रदेश सांसद प्राप्त गरेको जनता समाजवादी पार्टीकी निर्मला लिम्बुको पनि बसाइ झापामै रहेको छ ।
झापाबाट निर्वाचित प्रदेश सांसदहरुमा एमालेका एकराज कार्की, तिलकचन पाठक, छविलाल चुडाल, राधाकृष्ण खनाल, हिक्मत कार्की, होमबहादुर थापा, कांग्रेसका गोपाल तामाङ, भूमिप्रसाद राजवंशी र राप्रपाका सविना बजगाइँ र भक्तिप्रसाद सिटौला रहनुभएको छ ।
समानुपातिकतर्फ राप्रपाका निमसरी राजवंशी, अम्बरबहादुर विष्ट, गोपालबहादुर विश्वकर्मा, एमालेका नम्बरलाल धिमाल, कमला थापा मगर, तारादेवी ढकाल, कांग्रेसका लखिकुमारी गणेश, उद्धव थापा, मोहन महर्जन र माओवादी केन्द्रका बन्दना झाँगर झापाबाट संसद बन्नुभएको छ ।