पाँचथरकी साहित्यकार मनिषा आचार्यद्वारा लिखित उपन्यास ‘छोरी’बारे पुस्तक वार्ता


१४ पुष २०७९, बिहीबार १९:३४ मा प्रकाशित

मनिषा आचार्य पूर्वी पहाडि जिल्ला पाँचथरमा जन्मिनु भएकी साहित्यकार हुनुहुन्छ । पाँचथरको फिदिम नगरपालिका १२ मा जन्मनुभएका मनिषा आचार्यले भर्खरै एउटा उपन्यास प्रकाशन गर्नुभएको छ । उहाँको पहिलो उपन्यास ‘छोरी’मा कस्ता विषयलाई उठान गरिएको छ भन्नेबारे सहकर्मी भावना लिङ्देनले गरेको पुस्तक वार्ताः

उपन्यास लेख्ने विचार कसरी आयो ?
बुद्धीसागरको ‘कर्णाली ब्लुज’ पढेको थिएँ । त्यो किताब राम्रो लाग्यो त्यसपछि मैलै ‘सेतो धर्ती’ लगायतका किताबहरु पढेँ । त्यतिबेलानै लाग्थ्यो कि मैले किताब लेख्नुपर्छ /लेख्छु भनेर तर यति बैलानै लेख्छु भन्ने चाहिँ लागेको थिएन ।

आफ्नो पहिलो उपन्यासको नाम छोरीनै किन राख्नुभयो ?
खासमा समाजमा पिल्सिएका मानिसहरुलाई लिएर, भन्न खोजेर पनि भन्न नसकेका मान्छेहरुलाई लिएर किताब लेख्न मन थियो । यस्तो पनि लाग्थ्यो मैले २/४ ओटा कुरा लेखिदिँदैमा समाजमा लुकेका कुरा बाहिर आउँछ भने मैले किन नलेख्ने भनेर सुरु गर्या हो । अनि कथा लेख्दै जाँदा त्यहाँका मुख्य पात्र छोरी नै छिन् र यो किताबले समाजमा समग्र प्रतिनिधित्वनै छोरीहरुको गर्ने भएकाले उपन्यासको नाम छोरी राखेकी हुँ ।

तपाइँ एउटा पाठक भएर मूल्यांकन गर्नुभयो भने लेखक मनिसा आचार्यको लेखनमा के के कमजोरी देख्नुहुन्छ ?
पहिलो किताब पनि भयो र मैले छोटो समयमानै लेखेको हो । यो क्षेत्रका कोहिसँग पनि परामर्श नगरी लेखेको हुनाले मैले त सामान्य लिन्छु । तर पाठकहरुको प्रतिक्रिया राम्रो आएको छ । त्यसैले ठिकै गरेँ जस्तो लाग्छ ।

छोरी उपन्यासको बलियो पक्ष के हो ?
हाम्रो समाजले एउटा बास्केट बनाइदिएको छ छोरीहरुलाई । के के गर्ने, के के बोल्ने, कता कता जाने, कता कता नजाने भन्ने कुरा त्यो बास्केट भित्र राखेको हुन्छ । हामी त्यो बास्केट भन्दा बाहिर बसेर पनि छोरी मान्छेहरुले कस्ता कस्ता समस्यासँग जुध्न सक्छन् भन्ने बलियो उत्प्रेरणाको रुपमा याे पुस्तकमा उजागर गर्न कोशिस गरिएको छ । यो नै पुस्तकको बलियो पक्ष हो ।

तपाईं साहित्य किन लेख्नुहुन्छ ?
वास्तवमा बाहिरी खोज तथा अनुसन्धानबाट लेखिएको पुस्तकहरुमा म जीवन भेट्छु । भन्न नसकेको कुराहरु बोल्न नसकेको कुराहरु म लेख्छु अनि मैले लेखेको कुराहरु पढेर कसैको जीवन बदलिन्छ भने मैले किन नलेख्ने ? भनेर पनि मैले लेख्न सुरु गरेको हो । र, म कलम चलाउँदा खुशी हुन्छु ।

किताब लेख्न कि पढ्न सजिलो रहेछ ?
अर्कै मान्छेहरुले लेखिदिएको किताब पढ्न सजिलो हुन्छ त्यसैले लेख्न भन्दा पढ्दानै सजिलो हुन्छ ।

अब दोस्रो किताब कहिले आउँछ बजारमा तपाईको ?
पक्कै पनि म ८१/८२ सालतिर फेरी पनि किताब बजारमा ल्याउने छु, त्यसका लागि आन्तरिक तयारी गरिहेको छु । अहिलेको उपन्यास तीन महिना भित्रमा बजारमा ल्याइसकेको थिएँ । अलि हतार भएको हो कि जस्तो महसुस गरिरहेको छु । त्यसैले अबको पुस्तकमा मिहिनेतसँगै योजनानै बनाएर ल्याउने कोशिस गरिरहेको छु ।

अब आउने पुस्तकको विषयवस्तु के हन्छ ?
अहिलेनै त सोचिसकेको छैन तर मैले त्यस्तो पुस्तक लेख्ने हो जसले समाज बोल्छ । पछाडि पारिएका समाज बोल्छ । दुःख पाएका व्यक्तिहरुको भाव बोल्छ ।

अन्त्यमा, किताब लेख्न चाहने व्यक्तिहरुलाई के सुझाव दिनुहुन्छ ?
लेख्ने काम त्यति सजिलो पनि होइन । तर लेख्नै नसकिने पनि होइन । त्यसैले यदि तपाईं किताब लेख्दै हुनुहुन्छ भने धेरै नै किताब पढ्नुहोस् । विषयवस्तुको गहन अध्ययन गर्न अनुरोध गर्छु ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here