काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच सरकारको कामलाई प्रभावकारी बनाउने बिषयमा छलफल भएको छ ।
प्रधानमन्त्री प्रचण्डको निजी निवास खुमलटारमा भएको भेटमा सरकारको नीति तथा कार्यक्रम कस्तो बनाउने र सरकारलाई प्रभावकारी कसरी बनाउने बिषयमा छलफल भएको प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले जानकारी दिनुभयो ।
त्यस्तै वर्तमान सरकारको पहिलो मन्त्रीपरिषद् बैठकले गरेको निणर्यलाई कार्यान्वयनको तहसम्म पुराउने बिषयमा पनि छलफल भएको उहाँले बताउनुभयो । सरकारको साझा कार्यक्रमका साथै पदको भागबण्डा लगायतका बिषयमा छलफल गर्न बिहीबार सत्ता साझेदार दलहरुको बैठक बस्ने र आवश्यक निष्कर्ष निस्कने मल्लले जानकारी दिनुभयो ।
त्यसअघि बुधबार नै प्रधानमन्त्री र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच छलफल भएको र छलफलका क्रममा सरकारलाई समर्थन र सरकारमा सहभागी हुन प्रधानमन्त्री प्रचण्डले आग्रह गर्नुभएको मल्लले बताउनुभयो ।
जवाफमा अध्यक्ष नेपालले पार्टीभित्र छलफल गरेर आवश्यक निणर्य गर्ने बताउनुभएको प्रधानमन्त्रीका स्वकीय सचिव मल्लले जानकारी दिनुभयो ।