सहारा नेपालद्वारा महात्वाकांक्षी वित्तीय योजना सार्वजनिक, २०८८ सम्ममा १ खर्ब रुपैयाँको वासलात पुर्याउने लक्ष्य


८ पुष २०७९, शुक्रबार १६:५७ मा प्रकाशित

झापा । झापाको बिर्तामोड २ चारपानेमा मुख्य कार्यालय रहेको सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडले २०८८ सालसम्म १ खर्ब रुपैयाँको वासलात हिसाबको महत्वाकांक्षी वित्तीय योजना सार्वजनिक गरेको छ ।

शुक्रबार संस्थाको मुख्य कार्यालय चारपानेमा आयोजित पत्रकार सम्मेलनमा सहारा नेपाल साकोसका प्रमुख कार्यकारी निर्देशक महेन्द्र गिरीले हाल १५ अर्ब भन्दा बढी रुपैयाँ बराबरको वासलात रहेको र २०८८ सालसम्म त्यसलाई बढाएर एक खर्ब रुपैयाँ पुर्याइने बताउनुभयो । अहिलेसम्मको वित्तीय कारोबारमा सहारा नेपाल साकोस मुलुककै उत्कृष्ट सहकारीको रुपमा रहेको गिरीले बताउनुभयो ।

सदस्यहरूमाझ बचत तथा ऋण मुख्य कारोबार रहेको सहारा साकोसले स्वास्थ्य, शिक्षा तथा रोजगारीका क्षेत्रमा महत्वपूर्ण योगदान दिँदै आएको छ । देशभर सहकारी संस्थाहरूमाथि विश्वसनीयताका प्रश्न उठिरहेका बेला सहाराले अहिलेको तरलता अभावमा पनि सदस्यहरूलाई बचत फिर्ता तथा ऋण लगानी निसंकोच गर्न सकिरहेको जनाएको छ ।

अन्य धेरै सहकारी संस्थाहरूमा वित्तीय ज्ञानको अभाव तथा व्यवस्थापकीय कमजोरी रहेका कारण धेरै सहकारीहरू धरासायी बन्न पुगेको सहारा नेपाल साकोसका प्रमुख कार्यकारी निर्देशक गिरीले बताउनुभयो ।

सहाराका अध्यक्ष हरिबहादुर राजवंशीले सहारा नेपाल साकोसले धेरै क्षेत्रमा अझ धेरै काम गर्ने बताउनुभयो । अहिलेसम्म पाएको सदस्यहरूको विश्वसनीयतालाई कुठाराघात हुन नदिने उहाँको भनाइ थियो । कार्यक्रममा संस्थाको बार्षिक प्रगति प्रतिवेदन पनि सार्वजनिक गरिएको थियो ।   

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here