झापालगायत देशभर अन्तर्राष्ट्रिय अपांगता दिवस विविध कार्यक्रम गरी मनाइँदै


१७ मंसिर २०७९, शनिबार १२:०० मा प्रकाशित

झापा । आज (शनिबार) ३१ औं अन्तर्राष्ट्रिय अपांगता दिवस नेपालमा पनि विविध कार्यक्रम गरी मनाइँदैछ ।

अपांगता दिवसकै अवसरमा आज झापामा पनि विविध कार्यक्रम आयोजना गरिँदैछ ।

यस वर्ष समावेशी विकासका लागि रूपान्तरणमुखी उपायहरू तथा पहुँचपूर्ण र समान विश्वका लागि नवप्रवर्तन भन्ने नाराका साथ यो दिवस मनाइँदैछ ।

यस पटकको विश्व अपांगता दिवसमा अपांगता भएका व्यक्तिको मर्यादा, अधिकार र कल्याणका लागि अपांगता सम्बन्धी मुद्दाहरूको बुझाइलाई प्रवर्धन गर्ने र समर्थन जुटाउने लक्ष्य राखिएको छ ।

सन् १९९२ देखि हरेक वर्षको ३ डिसेम्बर दिन संसारभरि विश्व यो दिवस मनाइन्छ । आजको दिन विभिन्न कार्यक्रम तथा गोष्ठी, र्यालीहरू आयोजना गरिन्छ । यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीले शनिबार अपांगता भएका व्यक्तिको ३१औं अन्तर्राष्ट्रिय दिवसको अवसरमा शुभकामना समेत व्यक्त गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले जारी गरेको शुभकामना सन्देशमा अपांगता भएका व्यक्ति, यस क्षेत्रमा क्रियाशील राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्था, नेपाल सरकार, अभिभावक समूहलगायत सम्बद्ध सबैलाई अपांगता भएका नागरिकको पक्षमा निरन्तर क्रियाशील रहन प्रेरणा र ऊर्जा मिल्ने विश्वाससहित शुभकामना व्यक्त गर्नुभएको छ ।

अपांगता भएका व्यक्तिको अधिकार प्रवर्धन एवं संरक्षण गर्न संयुक्त राष्ट्रसंघको अग्रसरतामा ३ दशक अघि सुरू गरिएको यस दिवसले समावेशी विकास, पहुँचयुक्त भौतिक पूर्वाधार निर्माण, सहभागिता र नेतृत्व विकासमार्फत अपांगता भएका नागरिकलाई राष्ट्रिय विकासको मूल प्रवाहमा योगदान गर्न प्रोत्साहित गर्ने सन्देशमा उल्लेख गरिएकाे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here