व्यवस्थित र विकसित महानगर बनाउने अभियानमा साथ दिन मेयर कोइरालाको आग्रह


१५ मंसिर २०७९, बिहीबार १४:४५ मा प्रकाशित

विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला सफा, सुन्दर, हराभरा, व्यवस्थित र विकसित महानगर बनाउने अभियानमा साथ दिन आग्रह गर्नुभएको छ ।
सचिवालयमार्फत विज्ञप्ति जारी गर्दै मेयर कोइरालाले निर्वाचित भएर आएपछि सरसफाईलाई पहिलो प्राथमिकतामा राखेको उल्लेख गर्नुभएको हो ।

हाल महानगर फुटपाथ नियन्त्रण र सहरको सुन्दरतामा ह्रास आउने गरी जथाभावी निर्माण गरिएका पसल अगाडिका संरचना हटाउने अभियानमा केन्द्रित भएको मेयर कोइरालाले बताउनुभएको छ । सरफाईमा जस्तै फुटपाथ खाली गर्ने र अवैध संरचना हटाउने अभियानमा पनि विराटनगरवासी र व्यापारीको अत्यन्तै राम्रो सहयोग रहेको मेयर कोइरालाले विज्ञप्तिमा उल्लेख गर्नुभएको छ ।

“व्यापारीहरूले महानगरको आग्रहलाई स्वीकार गरेर फुटपाथ खाली गर्नुका साथै अवैध संरचना हटाइरहनु भएको छ । व्यापारीहरूको साथकै कारण फुटपाथमा बिना अवरोध निर्वाध रुपमा यात्रुहरू हिंड्ने वातावरण सिर्जना भएको छ,” मेयर कोइरालाले भन्नुभएको छ, “यो अभियानमा साथ दिनुहुने सम्पूणर् व्यापारीहरूलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु । अभियानलाई सफल बनाउन खट्ने नगर प्रहरी, नेपाल प्रहरीलगायत सम्पूणर् सुरक्षाकर्मीहरूसहित बुद्धिजीवी, पत्रकारका साथै हामीलाई हौसला प्रदान गर्नुहुने सबैप्रति हार्दिक आभार व्यक्त गर्दछु । यो अभियान निरन्तर सञ्चालन भइरहनेसमेत जानकारी गराउँदछु ।”

मेयर कोइरालाले विराटनगर अब यथास्थितिमा बस्न नसक्ने पनि प्रस्ट्याउनु भएको छ । विराटनगरको चौतर्फी विकासका लागि गम्भीरताका साथ लागि परेको उहाँको भनाइ छ । विकासका लागि स्रोतको खोजीमा लागेको उहाँले बताउनुभयो । संघीय र प्रदेश सरकारसँग समन्वय गरेर बढीभन्दा बढी बजेट ल्याउन लागिपरेको कोइरालाले उल्लेख गर्नुभएको छ ।

भौतिक संरचनाको निर्माण पनि योजनाबद्ध रुपमा अगाडि बढाइरहेको केही ठूला योजनाहरू ठेक्का प्रक्रियामा रहेको उहाँले विज्ञप्तिमार्फत जानकारी गराउनुभएको छ। “भावीपुस्ताले गर्व गर्न लायक विराटनगर बनाउने संकल्पका साथ अघि बढेका छौं । सम्भावना नदेखेर पलायन भएकाहरूलाई पनि विराटनगरमा पुनः फर्किने वातावरण सिर्जना गर्नुपर्छ भन्ने हाम्रो मान्यता छ,” कोइरालाले भन्नुभएको छ, “महानगरवासीको साथ र सहयोग बिना हामीले लिएको लक्ष्य पूरा गर्न असम्भव छ । हामी पाँच वर्षपछि महानगरको जिम्मेवारीबाट विदा हुँदै गर्दा अहिलेको छैटौं होइन विगतकै शाखलाई फर्काएर दोस्रो महानगर अर्थात् सहर बनाउने प्रण गर्दछौं ।”

महानगरको सौन्दर्यकरणका लागि फुटपाथ नियन्त्रण र जथाभावी निर्माण गरिएका अवैध संरचना हटाउने अभियान सबै वडामा सञ्चालन गरिनेसमेत उहाँको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here