देशको अर्थतन्त्र संकटतर्फ उन्मुख भइरहेको भन्दै कांग्रेस नेता कोइरालाद्वारा चिन्ता व्यक्त


१५ मंसिर २०७९, बिहीबार १४:३९ मा प्रकाशित

विराटनगर । नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाले देशको अर्थतन्त्र संकटतर्फ उन्मुख भइरहेको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ ।

विराटनगरस्थित कोइराला निवासमा बुधबार बुद्धिजीवीहरुको भेलालाई सम्बोधन गर्दै नेता कोइरालाले मुलुक आर्थिक रुपमा जर्जर हुने अवस्थामा पुगेको बताउनुभयो ।

मोरङ क्षेत्र नम्बर ६ बाट प्रतिनिधिसभा सदस्यमा नवनिर्वाचित कोइरालाले मुलुकलाई सही बाटोमा अगाडि बढाउन बुद्धिजीवीहरुले खबरदारी गर्नुपर्नेमा जोड दिनुभयो ।

“मुलुकको अर्थतन्त्र एकदमै चिन्ताजनक अवस्थामा पुगेको छ । जबसम्म मुलुक आर्थिक रुपमा बलियो हुँदैन तबसम्म देशको विकास हुँदैन,” कोइरालाले भन्नुभयो, “तपाईंहरु बुद्धिजीवीहरुले देशलाई सही बाटोमा अगाडि बढाउनका लागि नेताहरुलाई खबरदारी गर्नुहोस् । कतै मैले पनि गलत गरें भने तत्कालै भन्नुहोला ।”

नेता कोइरालाले सुशासन, आर्थिक पारशर्शितालाई आफूले प्रमुख एजेण्डा बनाएको समेत सुनाउनुभयो । सुशासन बिना मुलुकको विकास नहुने दाबी गर्दै कोइरालाले भ्रष्टाचार अन्त्यका लागि सबै दल र नेताले प्रण गर्नुपर्नेमा जोड दिनुभयो ।

नेता कोइरालाले सुशासनका पक्षमा संसदमा सधैं आवाज उठाउनेसमेत प्रतिबद्धता जनाउनुभयो । मुलुक अब यथास्थितिमा अगाडि बस्न नसक्ने बताउँदै कोइरालाले आर्थिक रुपमा समृद्ध बनाउने स्पष्ट दृष्टिकोण र लक्ष्यका साथ काम गर्नु आवश्यक रहेको औंल्याउनुभयो ।

“अब एकले अर्कोलाई दोष दिएर समय खेर फ्याल्नु हुँदैन । कसरी हुन्छ लगानीको वातावरण बनाएर मुलुकलाई आर्थिक रुपमा समृद्धि बनाउनुपर्छ,” उहाँले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here