प्रतिनिधि सभाको प्रत्यक्ष निर्वाचनतर्फ अधिकांश महिला उम्मेदवारले हार बेहोरे, ९ जना निर्वाचित


१४ मंसिर २०७९, बुधबार ०७:२५ मा प्रकाशित

काठमाडौं । प्रतिनिधि सभाको प्रत्यक्षतर्फ ठूला दलको तर्फबाट उम्मेदवारी दिएका अधिकांश महिलाले हार बेहोर्नु परेको छ । यसअघि २०७४ को निर्वाचनमा प्रत्यक्षमा निर्वाचित र समानुपातिकबाट सासंद बनेकाहरु समेत यसपटक पराजित भएका छन् ।

प्रतिनिधि सभाको प्रत्यक्षतर्फ १ सय ६५ सिटमा हालसम्म ९ जना मात्र महिला निर्वाचित भएका छन् । मत गणना भइरहेको सुनसरी ३ मा नेकपा एमालेकी भगवती चौधरी सबैभन्दा अन्तिममा जित्ने महिला उम्मेदवार हुनुहुन्छ । प्रतिनिधि सभाको प्रत्यक्ष तर्फ २ हजार ४ सय १२ उम्मेदवार मध्ये २ सय २५ जनामात्र महिला उम्मेदवार थिए । जसमध्ये प्रमुख राजनीतिक दलबाट २५ जना महिलालाई उम्मेदवार थिए ।

देशभरमा नेपाली कांग्रेसले ५, नेकपा एमालेले ११ र नेकपा माओवादीले ८ र एकिकृत समाजवादीले १ जना मात्र महिलालाई प्रत्यक्षतर्फ टिकट दिएको थियो । जसमध्ये नेकपा एमालेबाट विद्या भट्टराई, जुलीकुमारी महतो, ज्वालाकुमारी साह र भगवती चौधरी गरि ४ जना निर्वाचित भएका छन् ।

यस्तै, सत्ता गठबन्धनको प्रमुख दल नेपाली कांग्रेसबाट सीता गुरुङ र माअ‍ेवादीबाट रेखा शर्मा गरि १/१ जना निर्वाचित भएका छन् । यस्तै, नेपाली राजनीतिमा भर्खरमात्र उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीबाट सोविता गौतम र डा. तोसिमा कार्की गरि २ जना निर्वाचित भएका छन् भने नागरिक उन्मुक्ति पार्टीबाट रुञ्जीता श्रेष्ठ चौधरीले जित हासिल गर्नुभएको छ ।

२०७४ को निर्वाचनमा प्रत्यक्ष तर्फ ६ जना महिला निर्वाचित भएका थिए । २०७४ को निर्वाचनमा भन्दा यो निर्वाचनमा केही बढी महिला निर्वाचित भएपनि यो संख्या विगतको तुलनामा निकै न्यून हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here